सीसीटीभी जोड्नुअघि थाहा पाइराख्नुहोस् सरकारी नियम

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २७ गते २१:१४
सीसीटीभी जोड्नुअघि थाहा पाइराख्नुहोस् सरकारी नियम

काठमाडौं । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि विभिन्न सुरक्षा प्रविधि तथा विद्युतीय उपकरणहरु प्रयोगमा आइरहेका छन् ।

अहिलेको समयमा सार्वजनिक स्थान, राजमार्ग, सार्वजनिक निकाय, व्यापारिक तथा व्यवसायिक केन्द्र मात्र होइन, निजी व्यवसायदेखि आवास क्षेत्रमा समेत सीसीटीभीको विस्तार भएको छ ।

धेरैले सीसीटीभीको प्रयोग व्यक्तिगत आवश्यकता र चाहनामा पनि प्रयोग गरिरहेका हुन्छन् । तर यसका लागि सरकारले छुट्टै नियम पनि बनाएको छ ।

यदि तपाईंले सीसीटीभी प्रयोग गर्नु भएको छ भने सरकारले तयार पारेको यसबारेको नियम थाहा पाइराख्न एकदमै जरुरी छ । किनभने सीसीटीभी राखेकै कारण तपाईं कानूनी झमेलामा पर्न समेत सक्नुहुन्छ ।

गृह मन्त्रालयले पाँच वर्ष अगाडि नै ल्याएको सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई २०७५ माघमा परिमार्जन समेत गरिसकेको छ । सीसीटीभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्नकै लागि यो कार्यविधि ल्याइएको हो ।

सीसीटीभीले अपराध भइसकेपछिको अनुसन्धानमा सहजता ल्याउने मात्र होइन, आपराधिक व्यक्तिहरुमा मनोवैज्ञँनिक असर पुर्‍याएर अपराध नियन्त्रण गर्न समेत सहयोग पुर्‍याइरहेको हुन्छ ।

प्रयोजनका आधारमा सार्वजनिक, व्यापारिक र निजी गरी तीन प्रकारमा विभाजन गरी सीसीटीभीको प्रयोगका फरक फरक मापदण्ड बनाइएको छ ।

सीसीटीभी जोड्दा के गर्ने, के नगर्ने ?

जुनसुकै प्रयोजनका लागि सीसीटीभी जडान गरेको भए पनि १५ दिनभित्र नजिकैको प्रहरी इकाई तथा जिल्ला प्रसासन कार्यालयलाई जानकारी गराउनुपर्ने हुन्छ । सीसीटीभीबाट खिचेका दृश्यहरु गोप्य राख्नुपर्ने हुन्छ ।

यस्ता श्रव्य दृश्य कुनै पनि किसिमबाट सार्वजनिक गर्न तथा व्यापारिक रुपमा प्रयोग गर्न पाइँदैन । व्यक्तिगत स्वतन्त्रतामा असर पुग्नेगरी सीसीटीभी क्यामेरा जडान गर्न पनि पाइँदैन ।

सीसीटीभीबाट खिचेका फुटेजहरु कम्तिमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने हुन्छ । अनुसन्धानको सिलसिलामा प्रहरीले जतिखेर पनि प्रहरीले माग्न सक्छ ।

सीसीटीभी बिग्रिएमा, मर्मत गर्नुपर्ने भएमा, हटाउनुपर्ने भएमा वा परिवर्तन गर्नुपर्ने भएमा प्रहरी तथा स्थानीय प्रसासनलाई अनिवार्य रुपमा अग्रिम जानकारी गराउनुपर्ने हुन्छ ।

सीसीटीभी लुकाएर राख्न चाहिँ पाइँदैन । सबैले देख्नेगरी यसलाई राख्नेमात्र होइन, जडान गरिएको सूचना समेत अनिवार्य रुपमा टाँस्नुपर्ने नियम छ ।

कार्यविधिमा उल्लेखित शर्तहरु पालना गरे नगरेको विषयमा जिल्ला प्रशासन कार्यालयले नियमित वा आकस्मिक रुपमा प्रहरीलाई अनुगमनका लागि खटाउन सक्छ ।

व्यवसायिक प्रयोजनका लागि शौचालय, चेन्जिङ रुम, होटेलको बेडरुम बदि संवेदनशील स्थानमा सीसीटीभी जडान गर्नु नियम विपरितको कार्य हो ।

नियम बाहिर गए, के हुन्छ कारबाही ?

सीसीटीभी जडान र सञ्चालन सम्बन्धी सरकारले तयार पारेको कार्यविधि विपरित सीसीटीभी जडान तथा सञ्चालन गरेको पाइएमा विद्युतीय कारोबार ऐन अनुसार जरिवानादेखि जेल सजायसम्मको कारबाही हुन सक्छ ।

प्रकाशित : २०७८ साउन २७ गते २१:१४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI