जनप्रतिनिधिकै गुनासो : “गाँउ गाँउमा सिंहदरबार” नारामा मात्रै सिमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २२ गते २१:०१
जनप्रतिनिधिकै गुनासो : “गाँउ गाँउमा सिंहदरबार” नारामा मात्रै सिमित

कावासोती । नवलपुरका जनप्रतिनिधिले “गाउँ गाँउमा सिंहदरबार” नारा नारामै मात्रै सिमित भएको गुनासो गरेका छ्न । नवलपुरको सदरमुकाम कावासोतीमा शुक्रबार देखि सुरु भएको नवलपुर विषेश टेलिभिजन बहसको दोस्रो दिनको कार्यक्रममा बोल्दै जनप्रतिनिधि र अन्य सरोकारवालाहरुले यस्तो बताएका हुन ।

शनिबारको बहसमा भाग लिदै विनयी त्रिवेणि गाँउपालिकाका अध्यक्ष डम्बरबहादुर जिसिले प्रदेश र संघीय सरकारले स्थानीय तहलाई उपेक्षा गरेको आरोप लगाए । योजना निर्माण र बजेट विनियोजनमा स्थानीय तह सँग प्रदेश र संघीय सरकारले समन्वय नगरेको जिसिको गुनासो थियो । दुम्किबास त्रिवेणि सडक काम अगाडि बढन नसक्दा दुई वटा वडाका जनताले आफ्नै पालिकाको केन्द्रमा आउन पनि ४६ किलोमिटर लामो बाटोको कष्टकर यात्रा तय गर्नु परेको दुखेसो व्यक्त गरे । चितवन राष्ट्रिय निकुञ्जले निम्ताएको समस्या समाधान गर्न पटक पटक आफुहरुले केन्द्र र प्रदेश सरकारलाई गुहारे पनि सुनुवाइ नभएको जिसिको गुनासो थियो ।

कार्यक्रममा बौंदिकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले भौगोलिक रुपमा विकट रहेको पहाडका दुई वटा गाउँपालिकाका जनताको लागि तत्काल पहाडी क्षेत्रमा सरकारी कार्यालयको स्थापना र त्यस क्षेत्रको कृषि उत्पादनलाई बजार सम्म पुर्‍याउन प्रदेश र संघीय सरकारले चासो दिनु पर्ने बताए । प्रदेश र संघीय सरकारले स्थानीय तह सँग समन्वय नगरी योजना र बजेट दिदा आफुहरुलाई काम गर्न अप्ठ्यारो परेको रानाको गुनासो थियो ।

कार्यक्रममा नेकपाका नेता एवं बुलिङ्गटार गाँउपालिकाका अध्यक्षका प्रत्यासी बिद्रोही गिरीले सुन्दर नवलपुर हुनका लागि पहिलो सर्त सुन्दर बुलिङटार हुन जरूरी भएकाले नवलपुरको कालीगण्डकी तटिय क्षेत्रको दीगो विकास पहिले हुनुपर्ने बताए । देवघाट देखि रामपुर चापकोट हुँदै राम्दी सम्मको कालीगण्डकी तटिय क्षेत्रलाई कालीगण्डकी उपत्यका घोषणा गरि यहाँका स्थानीय तहले एकीकृत रूपमा विकासको मोडेल शुरू गर्नु पर्ने उनको धारणा थियो । नवलपुरको त्रिवेणी देखि पुर्व गैंडाकोट सम्म औद्योगिक क्षेत्रको रूपमा विकास हुँदै जाने भएकाले मानव शहरको रूपमा कालीगण्डकी उपत्यकाको बिकासमा लाग्नु पर्ने गिरीको जोड थियो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले स्थानीय तहको काम सकारात्मक भए पनि अपेक्षाकृत नभएको बताए । नवलपुरमा कृषि , पर्यटन , उद्योगको प्रचुर सम्भावना भएता पनि केन्द्रमा नवलपुरको पहुच नभएको शर्माको भनाई थियो ।

कार्यक्रममा बोल्दै रोडा ढुङ्गा क्रसर व्यवसायी संघ नवलपुरका अध्यक्ष भोगेन्द्र रायमाझीले नवलपुरको विकासमा उद्योगी व्यवसायीको पुर्ण साथ रहने बताउदै यसका लागि जिल्लाका राजनैतिक दल एकजुट हुनु पर्ने बताए । नेकपाका नेता एवं हुप्सेकोट गाँउपालिकाका अध्यक्षका प्रत्यासी मेक बहादुर पुलामीले स्थानीय सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको बताउदै बाटो बनाउनु मात्रै विकास हो भन्ने भ्रमबाट मुक्त हुनु पर्ने बताए । यस्तै हुप्सेकोट गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले गाँउपालिकाले भौतिक विकास सँग सँगै दिगो विकासको अवधारणा आधारित भएर काम गरेको बताउदै स्थानीय तह, प्रदेश र संघ बिच समन्वय हुनु पर्ने कुरामा जोड दिएका थिए ।

यसै बिच कार्यक्रममा बोल्दै नेपाली काङग्रेसकी नेतृ एवं प्रदेश सभा सदस्य ओमकला गौतमले नमूना नवलपुर बन्नमा प्रदेश र संघिय सरकारनै बाधक रहेको बताएकी छिन । गौतमले प्रदेश र संघीय सरकारले कालीगण्डकी करिडोर , दुम्किबास त्रिवेणी सडक, राष्ट्रिय निकुञ्जको समस्या , त्रिवेणी देवघाट जल मार्ग को विकासमा चासो नदिएको आरोप लगाईन । सरकारले चासोका साथ पहल गर्ने हो भने राष्ट्रिय निकुञ्जको समस्या , दुम्किबास त्रिवेणी सडकको समस्या समाधान हुन समय नलाग्ने उनको धारणा थियो । नवलपुरमा प्रशस्त सम्भावना भए पनि प्रदेश र संघीय सरकार र सत्ता पक्षका जनप्रतिनिधिको आँखामा नवलपुर नपरेकाले जिल्लाले विकासको गति लिन नसकेको गौतमको आरोप थियो ।

यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसिले नवलपुरको विकासमा प्रदेश र संघीय सरकारले उचित ध्यान नदिएको बताए । नवलपुरमा प्रशस्त सम्भावना छ, जनप्रतिनिधि ईमानदार भएर लाग्ने हो भने जिल्लाको विकास हुन समय नलाग्ने जिसिले बताए । स्थानीय र प्रदेश सरकारले जिल्लाका उद्योग कलकारखाना सँग समन्वय गरेर जिल्ला भित्रै रोजगारी श्रजना गर्नु पर्ने उनको धारणा थियो । जिल्लाका लागी संघ प्रदेश स्थानीयतहमा धेरै योजना बन्ने तर कार्यान्वयनमा समस्या रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेकपा नवलपरासीका अध्यक्ष एवं प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले नवलपुरको विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । दुम्किबास त्रिवेणी सडकको विषय चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएको हुँदा यो विषय संघीय सरकारले छिट्टै निर्णय गरेर समाधान गर्ने बताए । प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत जिल्लाको पहाडी क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत छिट्टै पुग्ने प्रदेश उनको भनाई थियो । त्रिवेणी भन्सारको स्तर उन्नतिको निर्णय संघीय सरकारले गरिसकेको बताउदै छिट्टैनै कार्यान्वयन हुने गाहाको भनाई थियो । जिल्लाका पहाडी क्षेत्रका जनताको सहजताको लागि प्रसासनिक निकाय स्थापनाको निर्णय सरकारले गरेको बताउदै छिट्टै कार्यान्वयन हुने बताए ।

एभिन्यूूज खबर र सायरा मिडिया एण्ड इभेण्डको आयोजनामा गरिएको बहसको सहजीकरण पत्रकार द्वय प्रकाश ज्ञवाली र रमेश बस्ताकोटीले गरेका थिए ।

 

 

 

प्रकाशित : २०७७ कार्तिक २२ गते २१:०१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI