चीनसँग रेलमार्गबारे मंगलबारबाट बैठक

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ५ गते ११:३४
चीनसँग रेलमार्गबारे मंगलबारबाट बैठक

५ मंसिर, काठमाडौं । नेपाल र चीनबीच आगामी मंगलबारबाट काठमाडौंमा सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे बैठक हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको एमओयूअनुसार आयोजनाको डीपीआर तयारीबारे छलफल गर्न लागिएको हो ।

बैठकमा चिनियाँ पक्षको नेतृत्व रेल्वे हेर्ने उपमन्त्रीले र नेपाली पक्षको नेतृत्व भौतिक मन्त्रालयका सचिवले गर्नेछन् । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले बिहीबार पदभार ग्रहण गर्दै यस सम्वन्धी कार्यादेशमा हस्ताक्षर गरे ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीका अनुसार यो पटकको बैठकले डीपीआर बनाउन सुरु गर्नेबारे अन्तिम टुंगो लगाउनेछ । केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भीक अध्ययन भइसेकेको छ । चिनियाँ परामर्शदाताले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ खर्च हुन्छ ।

अहिलेसम्म लगानीको मोडालिटीमा भने दुबै देशले गृहकार्य गरेका छैनन् । परियोजनामा लगानीको लागि अनुदान वा ऋण के र कति हुने भन्नेबारे छलफलसमेत भएको छैन ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण्मा डीपीआर चीनले नै खर्चेर बनाउने समझदारी भएको थियो । अब सो कार्य अघि बढाउन मंगलबारबाट काठमाडौंमा नै द्विपक्षीय बैठक बस्नेछ ।

करिब ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्ने अनुमान छ । रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने प्रारम्भीक अध्ययनले देखाएको छ । नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण समझदारी भएको थियो

प्रकाशित : २०७६ मंसिर ५ गते ११:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI