कावासोतीको फोहोर व्यवस्थापनका लागि १० बुँदे सहमति

NAWALPUR TIMES

कावासोतीको फोहोर व्यवस्थापनका लागि १० बुँदे सहमति

कावासोती । कावासोतीको फोहोर व्यवस्थापनको विषयमा कावासोती नगरपालिका र कावासोती १६ को अंकुर सामुदायिक वन बीच सहमति जुटेको छ । हिजो र आज गरी दुई दिनसम्म भएको छलफल पछि १० बुँदे सहमति भएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।

पौडेलले भने, ”सहमति भएको छ, अब केही दिनमा फोहोर उठ्छ । फोहोर उठाउनु पूर्व फोहोर फालिएको ठाउँमा सरसफाई गर्ने र त्यसपछि थप प्रक्रिया अगाडि बढाएर फोहोर उठाइने छ ।’

अंकुर सामुदायिक वनका अध्यक्ष लोक बहादु केसीले सहमति भए पनि सहमति अनुसार पहिलो काम नभए तत्काल फोहोर फाल्न नदिने बताए । सहमति अनुसार फटाफट काम भए पनि बजारको फोहोर उठ्न अझै सातादिन लाग्ने उनको भनाई छ ।

अध्यक्ष केसीका अनुसार अहिले जम्मा भएको फोहोरलाई सबैभन्दा पहिला वर्गीकरण गर्ने, अब उठाएका फोहोरलाई जुन दिन ल्याइन्छ त्यही दिन वर्गीकरण गर्ने, बजारका फोहोरहरु घरघरमै वर्गीकरण गर्न लगाउने, वर्गीकरण नगरेको फोहोर नउठाउने लगायतको सहमति भएको हो ।

अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर १० दिनदेखि उठ्न सकेको थिएन । फोहोर व्यवस्थापन पूर्व करिब ५ बर्ष अगाडि कावासोती नगरपालिका र सामुदायिक वनबीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने, नकुहिने फोहोरलाई थप वर्गीकरण गरी विक्री हुने चिजलाई विक्री गर्ने लगायतको व्यवस्थापन गर्ने भन्दै कावासोती नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको थियो ।

नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आव्हान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर संकलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology