यस वर्ष बाघ र गैंडा दुवै गणना हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ ८ गते १४:५१
यस वर्ष बाघ र गैंडा दुवै गणना हुँदै

गत वर्ष बजेट अभावले रोकिए पनि यस वर्ष भने सरकारले गैँडा गणना गर्ने भएको छ । साथै यसै वर्ष पालो परेको बाघ गणना पनि गर्नुपर्ने चापमा समेत सरकार रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले यस वर्ष गैंडा र बाघ गणना दुवै हुने जानकारी दिए ।

बाघ गणना हिउँदमा सुरु हुने छ । गैंडा गणना चैततिर सुरु हुने गर्दछ । दुवै कामका लागि सरकारले बजेट पनि छुट्याएको महानिर्देशक कँडेलले बताए ।

गत वर्ष अमेरिकी सरकारको सहयोगमा सञ्चालित ‘जल जंगल’ परियोजनाको भर पर्दा गैंडा गणनाको काम रोकिएको थियो । यूएसएआईडीको सहयोगमा सञ्चालित ‘जल जंगल’ परियोजनाले गैंडा गणनामा सहयोग गर्दै आएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार यूएसएआईडीको बजेट र कार्यक्रम रोकिएपछि नेपालको गैंडा गणना पनि अचानक स्थगित भएको थियो ।

गैंडा गणनाका लागि गत वर्ष सरकारले बजेट नै छुट्याएको थिएन । ‘गत वर्ष गणनाका लागि बाइमिस्टेक बजेट नै विनियोजन भएको रहेनछ । म विभागमा आएपछि हेर्छु त बजेट छैन, गणना गर्नु पर्ने छ । त्यसैले सहयोगी साझेदार संस्थाहरू सहयोग गर्न तयार भए’ महानिर्देशक कँडेलले भने । नियमित साझेदारहरु राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लूडब्लुएफ नेपाल र जेडएसएलजस्ता संस्थाले सधैँ सहयोग गर्थे ।

‘नियमित साझेदार संस्थाहरूले त सहयोग गर्दै थिए तर केही बजेट पुगेन । जल जंगल परियोजनासँग कुरा गर्दा उनीहरू पनि सहजै तयार भए । हामीलाई बजेटभन्दा पनि उपकरण भए हुन्छ भनेको सहयोग पाइने भयो । तर कुरा गरेको केही समयपछि नै जल जंगल कार्यक्रम नै बन्द भयो,’ कँडेलले भने । सो परियोजनाले करिब ५० लाख रुपैयाँबराबरका उपकरण उपलब्ध गराउँदै थियो । उपकरण नै नभएपछि गणना स्थगित भयो ।

यो वर्ष सरकारले गैंडा गणनाका लागि सरदर २० लाख रुपैयाँ र बाघ गणनाका लागि पनि त्यतl नै २० लाख रुपैयाँ बजेट विनियोजन गरेको महानिर्देशक कँडेलले बताए । तर गणनाका लागि योभन्दा धेरै बजेट लाग्छ । बाघ गणनाका लागि दुई करोड रुपैयाँ र गैंडा गणनाका लागि १ करोड ५० लाख रुपैयाँको हाराहारीमा खर्च हुने उनले जानकारी दिए । ‘सरकारी बजेटबाहेक अरु खर्च साझेदारहरूबाट जुटाउँछौँ,’ उनले भने ।

बाघ गणना नोभेम्बर-डिसेम्बर अर्थात मंसिर-पुसतिर र गैंडाको मार्च-अप्रिल अर्थात फागुन-चैतभित्रै गणना हुने महानिर्देशक कँडेलले बताए । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ तथा गैंडा गणना हुने गर्दछ । बाघ / गैंडा भएका निकुञ्जमा पर्यटकीय गतिविधि पनि हुन्छ । चितवन निकुञ्ज राम्रो राजश्व आम्दानी गर्ने निकुञ्जमा पर्दछ । चितवनले गत आर्थिक वर्षमा ३३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

तर सरकारले बाघ गैंडा गणनाका लागि साह्रै न्य”न बजेट छुट्याउने गरेको छ । अन्य साझेदारको सहयोग खोज्ने र गत वर्ष बजेट नै विनियोजन नगर्दा र दाताको भर पर्दा गैंडा गणना नै स्थगित भयो । विभागले निकुञ्जको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर निजी क्षेत्रसँग पनि अन्तरक्रिया राख्न लागेको कँडेलले बताए । विभागले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सीएसआर)लाई निकुञ्ज व्यवस्थापनसँग जोड्न खोजेको छ ।

बाघ गैंडा गणनामा पनि निजी क्षेत्रको सहयोग लिन सकिन्छ कि भन्ने सोचमा विभाग रहेको छ । बाघ र गैंडा गणना निकुञ्जको व्यवस्थापनको नै पाटो हो । संख्याका आधारमा योजना बनाएर अगाडि बढ्ने गरेको र गणनाले नै त्यसको स्पष्ट खाका दिने चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले बताए । संख्या बढे त्यससँगै आउने चुनौती र घटे त्यसको कारणका बारेमा सोधीखोजी हुन्छ ।

‘हामीले बाघ गणना गर्दा बाघ भएको ठाउँमा बाघको आहारा प्रजाति मृग, बँदेलको संख्या पनि के छ भनेर हेरेका हुन्छौं । गैंडा गणना गर्दा पनि बासस्थलको अवस्था कस्तो छ भनेर त्यसको नक्सांकन पनि गर्दछौं । गणनाले बाघ र गैंडाको संख्या मात्रै होइन, उनीहरूको बासस्थल र आहाराको अवस्था पनि जानकारी दिन्छ,’ पन्तले भने । यसैका आधारमा सरकारले निकुञ्ज व्यवस्थापनको योजना बनाउने उनले बताए ।

बाघ र गैंडाको गणना कति वर्षमा हुन्छ ?

सामान्यतया पाँच वर्षको अन्तरालमा नेपालमा गैंडा गणना हुँदै आएको छ । बाघ गणना चार वर्षको अन्तरालमा हुने गर्दछ । विशेष अवस्थामा समय घटबढ हुने गरेको छ । नेपालमा सन् १९९४ बाट गैंडाको प्रत्यक्ष गणना सुरु भएको हो । त्यसपछि सन् २०००, सन् २००५, सन् २००८, सन् २०११, सन् २०१५, सन् २०२० र अब सन् २०२६ मा हुन लागेको हो । बाघ गणना सन् २००९, सन् २०१३, सन् २०१८, सन् २०२२ र अब हुँदैछ ।

पहिला बाघको पैतला र अन्य संकेतहरुलाई विश्लेषण गरेर बाघको संख्या अनुमान गरिन्थ्यो । सन् २००९ देखि स्वचालित क्यामेरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । बाघ पाइने क्षेत्रहरूमा बाघ बढी ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामेरा राख्ने गरिन्छ । बाघ वा अन्य जे सुकै पनि त्यसबाट पार भए क्यामेराले आफैं फोटो खिच्ने गर्दछ । बाघको शरीरमा हुने पाटा मान्छेको औंला छाप जस्तो हरेकको फरक हुन्छ ।

झन्डै तीन महिना बाघको बसोबास स्थलमा राखेको क्यामेराले खिचेका तस्बिरहरू कम्प्युटरमा राखेर सफ्टवेयरबाट विश्लेषण गरिन्छ । बाघ गणनामा प्रयोग हुने मुख्य सामग्री नै स्वचालित क्यामेराहरू हुन् । अघिल्लो पटकको बाघ गणनामा यस्ता एक हजार क्यामेरा प्रयोग भएका थिए । सवा दुई सय जना प्राविधिक खटेका थिए । क्यामेराका कारण नै बाघ गणनाको खर्च बढी हुने गरेको महानिर्देशक कँडेल बताउँछन् ।

क्यामेराबाट फोटो खिच्न र सफ्टवेयरबाट विश्लेषण गरेर नतिजा घोषणा गर्न लामै समय लाग्छ । अघिल्लो पटक २०७८ सालको मंसिर १९ गते सुरु भएको बाघ गणनाको नतिजा विश्व बाघ दिवसको अवसर पारेर २०७९ सालको साउन १३ मा घोषणा भएको थियो । गैंडा गणनाको नतिजा भने छिट्टै आउँछ । सुरु भएको २५ दिन वा महिना दिनभित्रै गैंडा गणनाको नतिजा सार्वजनिक हुने गरेको छ ।

हात्तीमा बसेका गणकहरूले प्रत्यक्ष रूपमा नै एक-एक गरी गैंडा गन्ने गर्दछन् । गणकहरूले गैंडा हेर्न दूरबिन प्रयोग गर्दछन् । फोटो खिच्न क्यामेरा पनि साथमा राख्छन् । गैंडा कुन ठाउँमा भेटियो त्यसको नक्सांकनका लागि जीपीएस सेट पनि साथमा हुन्छ । गैंडा गणनामा प्रयोग हुने मुख्य सामग्री यी नै हुन् । गैंडाको संख्या अत्याधिक पाइने चितवन निकुञ्जमा मात्रै गणनामा विगतमा ४०/५० जना गणक खट्ने गर्दथे ।

बाघ गैंडाको विगतको गणना र संख्या

सन् १९९४ बाट प्रत्यक्ष गणना गर्दा ४४६ वटा गैंडा भेटिएका थिए । सन् २००० मा ५४४ वटा, सन् २००५ मा ३७२ वटा, सन् २००८ मा ४०८, सन् २०११ मा ५०३, सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैंडा देशभरमा थिए । सबैभन्दा बढी गैंडा चितवनमा छन् । सन् २०२१ को गणनामा देशभर ७५२ गैंडा रहँदा चितवनमा ६९४, बर्दियामा ३९, शुक्लाफाँटामा १७ र पर्सामा ३ गैंडा भेटिएका थिए ।

त्यसैगरी सन् २००९ को बाघ गणनामा देशैभर १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ बाघ भेटिएका थिए । बाघ पनि चितवन निकुञ्ज र यसआसपासको वन क्षेत्रमा सबैभन्दा छन् । सन् २०२२ को गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सार्वजनिक भएको थियो ।

बाघ गैंडा गणना गर्न सुरु गरेको अवधि र उपलब्धि

नेपालमा व्यवस्थित रूपमा गैंडा गणना सुरु गरेको ३१ वर्ष भएको छ । वैज्ञानिक र व्यवस्थित रूपमा बाघ गणना सुरु गरेको पनि १६ वर्ष भएको छ । संख्या पत्ता लगाएर त्यहीअनुसार व्यवस्थापन योजना बनाउन यसले मद्दत गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त बताउँछन् । नेपालमा सन् १९५० मा करिब ८ सयको हाराहारीमा गैंडाहरु रहेको अनुमान गरिने उनले बताए ।‘अब यो संख्या त्यही समयकै हाराहारीमा पुग्न लागेको छ,’ उनले भने ।

सन् २०२२ सम्म नेपालले बाघको संख्या सन् २०१० को तुलनामा दोब्बर बनाउने घोषणा गरेको थियो । विश्वमा हाल १३ देशमा मात्रै बाघ पाइन्छन् । बाघ पाइने देशका सरकार र राष्ट्रप्रमुखहरुको सन् २०१० मा रुसमा भएको बैठकले अन्तर्राष्ट्रिय तहमा त्यो प्रतिबद्धता गरेको थियो । सन् २०२२ मा देशभर बाघको संख्या २५० को हाराहारीमा पुर्‍याउने लक्ष्य सरकारको थियो । तर त्योभन्दा झन्डै सयभन्दा बढी बाघ नेपालमा पुगेका थिए ।

‘गणनाले दिने प्रस्ट नतिजालाई विश्लेषण गरेर काम गर्दा नै संरक्षण क्षेत्रमा यस्तो उपलब्धि भएको हो,’ चितवन निकुञ्जका प्रमुख पन्तले भने । निकुञ्जले वन्यजन्तुका साथै वन्यजन्तुका कारण समुदायमा पर्ने असरलाई पनि ख्याल राखेर योजना बनाउँछ । कुन क्षेत्रमा कस्ता जनावर कति छन् भन्ने थाहा भए त्यसैका आधारमा समुदाय र कृषि क्षेत्र जोगाउने, पर्यटकीय गतिविधि सुरु गर्ने योजना बनाउने गरेको उनले बताए ।

प्रकाशित : २०८२ भदौ ८ गते १४:५१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI