६ महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, ८ देशको प्रतिवन्ध फुकुवा

NAWALPUR TIMES

६ महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, ८ देशको प्रतिवन्ध फुकुवा
unnamed 1

१० भदौ, काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् ।

यो तालिका १ सेप्टेबरबाट लागु भई एक महिनासम्म कायम रहनेछ । त्यसपछि आवश्यकता र परिस्थिति अनुसार निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले बताए ।

‘अहिले दैनिक उडान संख्यासमेत बढाउनु पर्यो भन्ने माग छ,’ उनले भने, ‘यी विषयमा आगामी परिस्थिति अनुसार निर्णय हुन्छ ।’

नयाँ सेड्यूल उडान तय गर्ने क्रममा सरकारले पिसिआर परीक्षण सहज हुने देशलाई छानेको छ । यी देशबाट पनि पर्यटक र गैरआवासीय नेपाली भने अहिले नेपाल आउन पाउने छैनन् । नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि सरकारी आमन्त्रणमा आउने व्यक्तिले मात्र नेपाल प्रवेशको अनुमति पाउनेछन् । सरकारले अनअराइभल भिसा बन्द गरेका कारण सबै व्यक्तिले नेपाल आउनका लागि सम्बन्धित मुलुकको दूतावासबाटै भिसा लिनुपर्ने गरी उडान तालीका तय भएको हो ।

सरकारले स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ । त्यसमध्ये नेपाल एयरलाइन्सको भागमा १७ र हिमालयको भागमा १२ उडान परेको छ । विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको अनुमति पाएका छन् । १ सेप्टेबरपछि चार्टर्ड उडानमा भने स्वदेशी वायुसेवा कम्पनीबाटै उडान हुने भएको छ । सम्बन्धित मुलुकले आफै पठाउने उडानको हकमा मात्र विदेशी कम्पनीले अनुमति पाएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सेप्टेम्बरभर कुल २७ वटा चार्टर्ड उडान हुनेछन् । सरकारले पिसिआर परीक्षण सम्भव नहुने मुलुकबाट आउने नेपाली नागरिकलाई लक्षित गर्दै आगामी एक महिनाका लागि चार्टर्ड उडानको अनुमति दिएको हो । ती मुलुकमा तत्काल नियमित हवाई उडान भने हुने छैन । सरकारले सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड फ्लाइटका लागि उडान तोकेको हो । साउदी अरबको जेद्दा, दमाम र रियाद गरी तीन शहरमा जहाज जानेछन् ।

चीनका तीन शहरमा उडान

कोरोना भाइरसको संक्रमणका बीच सबैभन्दा पहिले (५ चैत) मा अन्तराष्ट्रिय हवाई सम्बन्ध टुटेको मुलुक हो चीन । अब नियमित उडानबाट चीनका ३ वटा शहर काठमाडौंसँग जोडिने भएका छन् ।

हिमालय एयरलाइन्सले एक महिनामा चुङछिङमा चार उडानको अनुमति पाएको छ । चाइना साउदर्नले ग्वाङझाउ र एयर चाइनाले छेन्दुलाई काठमाडौंसँग जोड्ने भएका छन् । यी कोरोनाबाट कम प्रभावित शहर हुन् । लामो दूरीका उडानमा दक्षिण कोरियाबाट कोरियन एयरले अनुमति पाएको छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि उडानको अनुमति पाएको हो । टर्कीको इस्तानबुलबाट टर्की एयर आउनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology