१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो तेस्रो नवलपुर बालिका सम्मेलन

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १ गते १०:०४
१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो तेस्रो नवलपुर बालिका सम्मेलन
IMG 20231018 WA0004

कावासोती । गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी श्रेष्ठले बाल अधिकार र किशोरी अधिकारका सवालमा तिनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

देवचुलीको दलदलेमा आयोजित तेस्रो नवलपुर बालिका सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सांसद जिसीले गण्डकी प्रदेश सभामा किशोर किशोरीका विषयमा धेरै नीति नियमहरु बनिसकेका भए पनि केही बाँकी रहेको बताउँदै ति बन्दै गरेका नीतिहरुमा किशोर किशोरी देखि  हरेक तप्काका नीति निर्माणमा भूमिका निर्वाह गर्ने बताएकी हुन् ।उनले ति नीति निर्माण गर्दा सरोकार पक्षसँग सल्लाह, छलफल, सुझाव लिएर सँगसँगै हातेमालो गर्ने बताईन् ।

नवलपुर किशोरी सञ्जालकी अध्यक्ष बिद्या ढुंगानाको अध्यक्षता तथा सांसद जिसीको प्रमुख आतिथ्यतामा भएको पहिलो सत्रको कार्यक्रममा किशोरी शसक्तिकरण अभियानमा लाग्न नपाएका भर्खर युवावस्थामा प्रवेश गरेका विभिन्न क्षेत्रका युवती र अभियानमा जोडिएर अभियानको सहजीकरणमा लागेका किशोरीहरुबीच सामुहिक छलफल भएको थियो ।

छलफलमा समग्र किशोरीहरुको समस्या, चुनौती, अवसर, सम्भावनाको चित्रण देखिएको थियो । उनीहरुले आफ्ना अनुभव समेत राखेका थिए ।

कावासोतीबाट सहभागी मनिषा पौडेलले किशोरी शसक्तिकरणका अभियानले अहिलेका बालबालिकामा उर्जा थपेको बताउँदै बैनीहरुको क्षमतामा निकै सुधार आएको महसुस गरेको सुनाईन् । पब्लिक स्पीकिङमा अब्बल पौडेलले आफूले किशोरी अभियानको मिसन सञ्चालन गरेका संघसंस्थाको दिशानिर्देश नपाए पनि अव यस्ता गतिविधिलाई तिव्र गतिशिलतामा फराकिलो दायरामा पुर्याउन सुझाईन ।
देवचुलीकी एलिना केसीले पनि अहिलेका बालबालिका र किशोरीले प्राप्त गरेका अवसर आफूले नपाएकोले छिटो जन्मिए कि भन्ने महसुस गरिन् । सञ्चार क्षेत्रमा क्रियाशील केसीले सामाजिक रुपको अलावा अभिभावकका बीचमै पनि खुलेर कुरा गर्न नसक्ने अवस्था पार गरेको अनुभव बाड्दै अहिलेको पुस्तामा देखिएको दृढताले खुसी लागेको बताईन् ।

देवचुलीकी डाक्टर गितु गैरेले किशोरावस्थामा हुने, शारीरिक, मानसिक, संवेगात्मक परिवर्तनका विषयमा खुलेर ब्यक्त गर्न पनि नसक्ने र विद्यालयमा समेत ति विषयहरु खासै नसिकाउँदा आफैले जान्नुपर्ने परिस्थिति रहेको बताईन् ।


अभियानमा जोडिएर आफुभन्दा तल्लो पुस्तालाई अभियानमा स्वयंसेवी अभियान्ताका रुपमा लागेका रुपन्देहीकी सुनिता हरिजनले आफू किशोरावस्थामा चलिरहदा अहिले नै विभिन्न सामाजिक क्षेत्र, समुह, सञ्जालहरुमा बसेर अनुभव संगाल्ने अवसर प्राप्त गरेको बताईन् । यद्यपि, अझै थुप्रै बालबालिकालाई शसक्तिकरणको अभियानमा पहुँच पुर्याउन नसकिएकोले स्थानीय तह गम्भीर हुनुपर्ने सुझाव दिईन् ।


कावासोतीकी आशा बिकले आफू किशोरी शसक्तिकरणको अभियानमै जोडिएका कारण पछाडि बसेर सुन्ने आशा अहिले अगाडी बसेर सुनाउने बनेको अनुभव राखिन् ।

कार्यक्रम सञ्चालक नवलपुर किशोरी सञ्जालकी सदस्य एवं किशोरी शसक्तिकरण अभियानकी अभियन्ता रेजिना घर्तीमगरले सहजीकरण गरेको सामुहिक छलफलपछि बोल्ने बक्ताहरुले बालबालिका र किशोरीको सवालमा गर्नुपर्ने सामाजिक बिकासमा गरिने लगानीको प्रतिफल दिर्घकालिन हुनेमा कुनै सन्देह नरहेको प्यानल छलफलमा सहभागीहरुले ब्यक्त गरेका अनुभवले पुष्टि गरेको धारणा राखे ।

उद्घाटन सत्रपछि आयोजित दोस्रो चरणको समापन समारोहले १५ बुँदे घोषणा पत्र जारी गरेको छ ।

राष्टिय गाउँपालिका महासंघका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डे, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेत, मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी, जिल्ला बाल अधिकार समिति नवलपुरका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतको उपस्थितिमा बाल तथा किशोरी अधिकारलाई अझ प्रभावकारी बनाउन सरोकारवाला पक्ष र निकायलाई ध्यानाकर्षण गराउने ब्यहोराको घोषणापत्र समारोहको अध्यक्षता गरेकी नवलपुर किशोरी सञ्जालकी अध्यक्ष बिद्या ढुंगानाले वाचन गरेकी थिईन् ।

१५ बुँदे घोषणापत्रमा किशोरीहरुले आफन मागहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । जसमा उनीहरुले आफुले पाउनुपर्ने हक, अधिकार र कर्तव्यका बारेमा समेत समावेश गरेका थिए ।

युवा, बालबालिका तथा किशोरीका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपाल (जेसिवाईसिएन) र क्यान्नालन स्वीजरल्याण्ड, केयर नेपाल, ओरेक, किडार्क द गार्डेन अफ होप फाउण्डेसन, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यका बारेमा जेसिवाईसिएनका अध्यक्ष तिलोत्तम पौडेलले प्रकाश पारेका थिए ।

सो कार्यक्रममा बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, कन्सोर्टियम, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल लगायत अन्य विभिन्न राष्ट्रिय स्तरका सञ्जालहरुको समेत ऐक्यबद्धता रहेको थियो ।

एक दिवसीय बालिका सम्मेलनमा नवलपुर, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी सञ्जालका पदाधिकारीहरु एवम अभियन्ताहरु समेतको उपस्थिति रहेको थियो ।

 

यस्तो छ १५ बुँदे घोषणापत्र

मिति २०८० असोज ३० गतेका दिन तेस्रो नवलपुर बालिका सम्मेलन २०८० को अवसरमा हामी नवलपुर, चितवन, रुपन्देही र कपिलवस्तुका विभिन्न पालिकाहरुबाट सहभागी भएका किशोरीहरुले छलफल गरी निम्न अनुसारका विषयहरु सरोकारवालाहरुको समक्ष प्रस्तुत गर्ने गरी जारी गरिन्छ ।
१) भौतिक विकास सँगै मानवीय विकासको लागि बालबालिकाहरु र विशेषगरी बालिकामा लगानी बृद्धि गरिदिनुहुन अनुरोध गर्दछौँ ।
२) विद्यालयमा उपलब्ध भएको सेनेटरी प्याडको गुणस्तर कमसल रहेको र प्याड प्रयोग पछी विसर्जन गर्न मिल्ने पूर्वाधारहरुको विकास गरियोस ।
३) प्रत्येक स्थानीय तहमा बालबालिका हेर्ने छुट्टै डेक्स रहेको छ तर त्यसमा बालिकाको समस्याहरुको समाधानको लागि स्थानीय तहमा बालिकाको फोकल पर्सन र डेस्कको स्थापना गरियोस ।
४) बालमैत्री, किशोरीमैत्री, युवामैत्री स्थानीय शासनको प्रबद्र्धनको लागि संरचना, बजेट र नीतिहरु पस गरी सवै स्थानीय तहमा विस्तार गरियोस ।
५) विद्यालय शिक्षालाई पूणर् रुपमा निशुल्क र हामीले पढ्ने पुस्तकहरुमा बालबालिका र किशोरकिशोरी सम्बन्धी ऐन नियम र कानुनका साथै नैतिक विषयहरू समावेश गरी पठ्नपाठन गर्ने वातावरण निर्माण गरियोस् ।
६) अव निर्माण हुने सम्पूणर् भौतिक संरचनाहरूलाई बालमैत्री, अपाङ्गता मैत्री, बृद्धबृद्धा मैत्री, महिलामैत्री लगायतका विभिन्न संरचनामा विशेष प्राथमिकता प्रदान गरियोस् ।
७) स्थानीय र प्रदेश सरकारमा बालबालिका र किशोरी सम्बन्धी कुनै पनि ऐन, नियम तथा नियमावली निर्माण गर्दा बालबालिका र किशोरीहरूको अर्थपूणर् सहभागिताको सुनिश्चितता गरियोस् ।
८) हाम्रो लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको सिमानामा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत केन्द्र स्थापना हुन लागेको खुसीको कुरा यहाँलाई सुनाँउन चाहन्छौ । सो स्रोत केन्द्रको दिगोपन सहीत यस्तै स्रोतकेन्द्रहरु प्रत्येक स्थानीय तहमा स्थापनाका लागि पहल गरियोस ।
९) आज पनि हामी छोरीहरु भ्रुणबाट नै असुरक्षित छौ । जन्मेपछी पनि हामी बालिकाहरुलाई विभिन्न प्रकारको पीडा, हिंसा, दुव्र्यवहार, अन्याय, बालविवाह र अत्याचार लगायतका असहज र अमानवीय व्यवहारहरु भईरहेकोछ । यो सवैको अन्त्य गर्न सबै स्थानीय तहलाई बालबालिका र किशोरीमैत्री वातावरण निर्माण तथा कार्यन्वयनको निरन्तर अनुगमन तथा मूल्याङ्कन गरी बालअधिकारको सुनिश्चितता र कानुनी राज्यको प्रत्याभूति दिलाईयोस् ।
१०) बालबालिकाहरुको पोषण र विद्यालयमा पढ्ने सवै बालबालिकाहरुको लागि खाजाको व्यवस्थापन स्थानीय सरकारले गरोस ।
११) प्राविधिक तथा माध्यमिक एवम् उच्च शिक्षामा बालिकाहरुको पनि समान पहुँच, अवसर र लैङ्गिक समानतापूणर् व्यवहारको व्यवस्था गर्नसकेमा राम्रो हुने थियो ।
१२) खेलकुद लगायत साहसिक क्षेत्रहरूमा बालिकाहरूको संरक्षण र सरोकारलाई प्राथमिकता दिनु आजको युगको प्राथमिकता हो भन्दै आफ्ना प्रदेशको नीति तथा कार्यक्रमहरुमा बालिकाहरुको यस्ता विषय प्रति ध्यान दिईयोस् ।
१३) विद्यालय स्टाफ नर्स कार्यक्रम सवै स्थानीय तह भित्रका सवै विद्यालयमा व्यवस्था गर्ने नीति अवलम्बन गरियोस ।
१४) बालिकाहरूको जीवन सुरक्षाको लागि लागि बालिका विमा कार्यक्रम सञ्चालन गरियोस् । बाबुआमा विहिन बालबालिकाको लागि सामाजिक सुरक्षा सवै बालबालिकाले सहज रुपमा पाउनको लागि बाताबरण निर्माणमा पहल गरियोस ।
१५) बालिका तथा किशोरीहरूको न्यायमा पहुँचको सुनिश्चितताका लागि बालबालिका र किशोरी माथि हुने हिंसा तथा अपराधका घटनाको अनुसन्धान र न्यायिक प्रकृयाको लागि छिटो कार्यान्वयन हुन संयन्त्रको व्यवस्था गरियोस ।

प्रकाशित : २०८० कार्तिक १ गते १०:०४

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI