हुम्लामा नेपाली भू-भागमा चिनियाँ पक्षद्वारा भवन निर्माण, नेपाली भू-भागमा नेपालीलाई नै रोक

NAWALPUR TIMES

हुम्लामा नेपाली भू-भागमा चिनियाँ पक्षद्वारा भवन निर्माण, नेपाली भू-भागमा नेपालीलाई नै रोक
china constructing their infrastructure in nepals land

काठमाडौं, ३ असोज । हुम्लामा चिनियाँ पक्षले नेपाली भू-भागमा भवन निर्माण गरेको छ । नेपाल-चीन सीमाभन्दा एक किलोमिटर भित्र नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमीको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन निर्माण गरिरहेको हो । भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

केही दिनअघि लाप्चा क्षेत्र पुगेर फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौवटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए । नेपाली भूभागमाथि बनेको भवनको प्रायोजनबारे समेत आफू अनविज्ञ रहेको लामाले बताएका छन् ।

२०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा उक्त स्थानमा तीनवटा भवन मात्र निर्माण भएको र उक्त क्षेत्रमा चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकिएको बताएपनि हाल थप नयाँ भवत्र निर्माण गरिरहेको अध्यक्ष लामाले देशसञ्चारका लागि राजन रावतलाई बताएका छन् । उक्त क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई पनि प्रवेश रोक लगाउँदै आएका छन् । तर, चिनियाँ सुरक्षाकर्मीहरु भने नेपाली भूभागमा गाडीमै ओहोरदोहोर गरिरहन्छन् ।

हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन। वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले पनि भवन निर्माण गरिएको क्षेत्र नेपाली भूभाग भएको बताए।

तामाङले भने, ‘पहिले भवन बनाउने बेला लिमीबासीले कुरा उठाउँदा पशुबस्तुको उपचार गर्नका लागि भ्याक्सिन लगाउने ब्लक बनाउने र दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको थियो। तर भवन बनेपछि कहिल्यै प्रयोमा आएका छैनन्।’

केही वर्ष भवन त्यतिकै अलपत्र अवस्थामा रहेकाे उनले बताए।  यसरी अर्काको जमिनमाथि भवन बन्नुभन्दा पहिले नाम्खा गाउँपालिकासँग समन्वय हुनुपर्ने तर त्यो हुन नसकेको उनको तर्क छ।

हाल भवन बनेको क्षेत्रमा पहिले चिनियाँ र नेपाली पक्षबीच बस्तु विनिमयको व्यापार हुने गर्थ्यो। अहिले सोही क्षेत्र हुँदै लिमीसम्म सडक निर्माण गरिएको छ। १२ नम्बर सिमा स्तम्भ क्षेत्रमा भवन बनेको जानकारी आएको बताउँदै प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले त्यसबारेमा बुझ्न र सिमा स्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा जान लागेको बताए।

अहिले सुनेको भएपनि वास्तविकता के हो? त्यहीँ गएर जानकारी लिने र के भएको हो टुङ्गो लगाएर आउने उनले बताए। त्यसका लागि प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानतर्फ जाने तयारी भइरहेको छ।-देशसञ्चारबाट राजन रावतको तस्बिरसहितको  रिपोर्ट 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology