नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको क्षेत्रमा विगत २ महिना देखि हिंसात्मक गतिविधि गरिरहेको बाघको खोजी सुरु गरेको ९ दिन पुगेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका ३ हात्ती र ९ जना प्राविधिक सहितको टोलिले गत पौष २८ गते देखि यस क्षेत्रमा बाघको खोजी गरेको डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख शरदकुमार अधिकारीले बताए ।
अधिकारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय नवलपुरको संयुक्त टोलिले विगत ९ दिन देखि बाघ देखिएका विभिन्न क्षेत्रका वनमा क्याम्प खडा गरेर बाघको अध्ययन र नियन्त्रणमा लिने प्रयास गरेको हो ।
विनयी त्रिवेणीको होङ्गसी सिमेन्ट फ्याक्ट्रीको उत्तर देखि मध्यवर्ती क्षेत्रका वन सम्मको क्षेत्रमा खोजी अगाडी बढाएको टोलिले विभिन्न स्थानमा फरक फरक बाघका पाईला फेला पारेको र विभिन्न स्थानमा राखिएक क्यामेरामा ५ वटा बाघ रेकर्ड भएको भए पनि मान्छेलाई आक्रमण गर्ने बाघको भने पहिचान भै नसकेको अधिकारी बताउछ्न ।
आक्रमण गर्ने बाघको पहिचान गरेर नियन्त्रणमा लिने काम कठिन भएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका रेन्जर योगेश ढकालले बताए । बाघको खोजीमा निस्किएको टोलिको अध्ययन आक्रमण गर्ने बाघको नजिक पुगेको र छिट्टै अन्तिम निष्कर्षमा पुग्ने र बाघ पहिचान गरेर नियन्त्रणमा लिने ढकाल बताउछ्न । “केही दिन ढिलो होला तर हामी रिजल्ट दिने गरेर लागेका छौ,” रेन्जर ढकालले भने । ढकालका अनुसार बाघ अरुणखोलाको आसपासको वन क्षेत्रमा रहेको प्रारम्भिक अनुमान रहेको छ । बुधबारमात्रै बजार क्षेत्रमा काटिएका रागा भैसीहरुको हड्डि फाल्ने स्थान आसपास बाघको पछिल्लो गतिविधि देखिएकोले अबको खोजी त्यतै केन्द्रित हुने ढकाल बताए ।
ठूलो जंगल क्षेत्रमा खोज्नु पर्दा ढिला भएको र यस क्षेत्रमा मान्छेलाई आक्रमण गर्ने बाघ सहित अरु धेरै बाघ भएकाले पनि आक्रमण गरेको बाघको पहिचानमा ढिला भएको बाघको खोजीमा रहेका एक जना प्राविधिकले बताए । बाघ खोज्न हात्ती वन प्रवेश गरेकाले पनि बाघले स्थान परिवर्तन गरिरहेकोले एकै स्थानमा बाघ फेला पार्न टोलिलाई गार्हो परेको हो । “बाघ खोज्ने काम कठिन छ, ज्यानै जोखिममा राखेर ९ दिन देखि जंगलको बास भएको छ, बाघ पत्ता लगाएर मात्रै निस्क्न्छौ”, बाघको खोजीमा रहेका प्राविधिक बताउछ्न ।
मान्छेलाई आक्रमण गर्ने गरेको बाघ भएको ठाउँ एकिन भए पछि निकुञ्जबाट थप प्राविधिक सहितको टोलि पठाउने तयारीमा निकुञ्ज रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गणेश तिवारीले बताए । “आक्रमण गर्ने बाघको एकिन भए पछि चिकित्सक र प्राविधिक सहितको टोलिले डार्ट गरेर वाईल्ड एम्बुलेन्समा राखेर बाघलाई कसरा या त चिडियाखानामा लैजान्छौ”,तिवारीले भने । बाघ गणना समेत यहि बेला चलेकाले केही समस्या देखिएको भए पनि विभाग सँगको समन्वयमा थप प्राविधिक टोलि शुक्रबारबाट थपिने तिवारीले बताए ।
विगत डेढ महिना देखि विनयी त्रिवेणिको दुम्किबास, मध्यविन्दुको आरुणखोला आसपास बाघको आक्रमणमा परेर २ जनाले ज्यान गुमाएका छ्न भने १ जना घाईते भएका छ्न । बाघको आतंक बढे संगै स्थानीयहरु वनमा चौपाय चराउन, सालको पात टिप्न जान छोडेका छ्न भने पुर्व पश्चिम महेन्द्र राजमार्ग भएर दुई पांग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको छ ।
प्रकाशित : २०७८ माघ ६ गते १५:३१
Facebook Comment