हातमा साङ्लो बाँधेर स्रष्टाको प्रदर्शन

NAWALPUR TIMES

हातमा साङ्लो बाँधेर स्रष्टाको प्रदर्शन
1613131677703

काठमाडौं । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् ।

साहित्य सर्जक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन् । ‘सबैखाले प्रतिगमनविरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’ को ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म र्‍याली निकालेका छन् । ब्यानरभन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर…लेखिएका प्ले कार्ड टाँसेर हातमा साङ्लो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए ।

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङ्लो बाँधेर प्रदर्शनमा उत्रिएका हुन् ।

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतीकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । कलाकारहरुले साङ्लोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए ।

त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्दर्भले गीत गाएर प्रतिगमनको विरोध गरेका थिए । ‘हामी बस्ने घरलाई गोठ भनेर भत्कायौ, सरकार लाग्यो हाम्रो निम्ति न्याय मर्‍यो…।’

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमनविरुद्ध सबै स्रष्टा एक ठाउँमा उभिनुपर्ने बताए । उनले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकबद्ध हुन आह्‍वान गरे ।

उनले भने, “सडक संघर्षमा हामी अघि बढिरहेका छौं । निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त ? यो भाषा कसले सिकायो हामीलाई ? उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठीक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले हो ।”

यो साझा मुद्दा भएकाले पक्ष/विपक्ष र प्रतिगन हो/होइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उनले सबैलाई आग्रह गरे । साझा फोरमका सम्बन्धमा स्रष्टाहरुले जिज्ञासा राख्ने गरेको भन्दै उनले भने “यो त साइँलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।”

स्रष्टाहरुको प्रदर्शनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई, आहुति, निनु चापागाईं, विमला राईलगायतको उपस्थिति थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology