हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

NAWALPUR TIMES

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग
1604060014179

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आ-आफ्नै घरमा मोहम्मद डे मनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताए ।

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेर मोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताए । मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग उनको छ ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।

मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने र मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ । रासस 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology