राजन पाण्डे-
विषय प्रवेष:
चुनावको वेलामा स्मार्ट नगर बनाउने हो भन्ने कुरा कुन उम्मेद्वारले भनेनन् र ! जुन उम्मेद्वारले जिते पनि नगर स्मार्ट हुने कुराले म भने दंग थिएं । मख्ख थिंए ।
स्थानीय सरकार नागरिकको घरदैलोको सरकार हो । नागरिकले रोएको सुन्ने हाँसेको देख्ने नागरिकको नजिकको अभिभावक नै हो स्थानीय सरकार । त्यसैले नागरिकले स्थानीय सरकारवाट सेवा, विकास, सुविधा, न्याय, सुरक्षा र संरक्षण खोजेका हुन्छन् ।
आफ्नो मत मार्फत आफ्नै गाउँघरका प्रतिनिधिलाई ५ वर्षे शासनको अगुवा चुनेका जनताले नजिकबाट शासनको अनुभुत गर्दछन् ।
दस वर्षे जनयुद्द, राजनीतिक प्रणालीमा फेरवदल र छिमेकी देशहरुको तिब्र विकासको वेग तथा नेताहरुको विकास र समृद्दिको रटानले पनि होला नागरिकमा विकासको भोक आकासिएकोछ ।
समृद्धि प्राप्तिको हुटहुटी छ ।
संघ र प्रदेश मात्र होईन स्थानीय सरकारको पनि संकल्प र साधनाको अनुहार वजेट हो ।
हिज वजेटलाई एक आर्थिक वर्षको सम्भावित आय र प्रस्तावित खर्चको विवरणका रुपमा मात्र बुझिन्थ्यो । तर आज वजेट त्यतिमा सिमित छैन । वजेट त पव्लिक फाईनान्सवाट पव्लिक पोलिसिमा रुपान्तरण भएको छ । वजेट सरकारी कोषको सञ्चालन मात्र होईन यो त नीति तथा दर्शनका आधारमा सरकार वाहिरका पात्रहरुलाई गतिशिल, उत्पादनमुखी, सरकारका सहयोगी र सहयात्री वनाउने गरि परिचालन गर्ने दृष्टिकोण पनि हो । संकल्प हो । सरकारी स्रोतको महत्तम उपयोगको शुत्र हो । नागरिकले आशा र भरोसा अड्याउने भुँई हो ।
वजेट जति सान्दर्भिक, वास्तविक र कार्यान्वयन योग्य भयो त्यति आर्थिक, सामाजिक र भौतिक प्राथमिकतालाई प्राप्त गर्न सकिन्छ । नागरिकको खाँचो संग जोडिन सकिन्छ ।
सवाल :
हुनत म कुनै विज्ञ होईन । मेरो अौपचारिक शिक्षा पनि वजेट व्यवस्थापनको होईन । मैले चासो नराख्दा पनि हुन्थ्यो । खै नेताले चुनाबमा नगर अब स्मार्ट बन्दैछ भनिदिएर होला मष्तिश्कमा समार्ट नगरवासी हुने लोभले झनै सोध्न, बुझ्न मन लाग्दो रहेछ ।
मैले मेरो जनप्रतिनिधिलाई जिज्ञासा राखें,
हाम्रो नगरको प्राथमिकता के हो ?
उत्पादन, रोजगारी र राजश्व वृद्दिका लागि हाम्रा नीति, योजना र कार्यक्रम के हुन्?
हाम्रो स्थानीय सरकारलाई आत्मनिर्भर वनाउन हाम्रो सोंच र संकल्प के हो ?
नागरिकको पहिलो रोजाई घर अगाडि फराक चिल्लो वाटो हो वा छोराछोरीलाई पढाउन, स्वास्थ्य उपचार गर्न विदेश जान नपरोस भनेर खोजेको आय आर्जनको अवसर हो ? निशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य उपचार हो ?
नागरिकले खोजेको विकास, सेवा, सुरक्षा, न्याय र संरक्षणको सुनिस्चितताका लागि व्यवहारिक प्रतिवद्दता के हो ?
तपाईले भने जस्तै स्मार्ट नगर निर्माणका काईदा के हुन् ?
………….
यति कुरा राख्न् धेरै पटक कुरा सुन्न ध्यानाकर्षण गरें । न सुन्ने ध्यान देखें । न कुरामा चित्त नै थियो । न मेरा कुरा ग्रहण गर्ने मन नै ।
निष्कर्ष :
स्थानीय सरकारको वार्षिक वजेट नागरिको आशाको दियो हो । सरकारको आर्थिक दर्शन हो । नीति तथा प्राथमिकताको दस्तावेज हो । हजारौं माईलको यात्रा एक कदमबाट सुरु हुन्छ भने जस्तै २०-३० वर्ष पछि हाँसिल हुने विराट लक्ष्य प्राप्तिको आधार हो वार्षिक वजेट ।
एक पटक विचार गरौं !
के हाम्रो नगर दिगो, आधुनिक, समन्यायिक र गुणस्तरीय शहरी विकासको अवधारणा अनुसार चलेको छ ? के हाम्रा वार्षिक वजेटले यो कुरामा काँध थामेकोछ ? के हाम्रो वजेट E-governance, दिगो र गुणस्तरीय भौतिक पुर्वाधार, सामाजिक पुर्वाधार, आर्थिक पुर्वाधार, चुस्त सेवा प्रवाह, नागरिकमुखी सुशासित व्यवस्था प्राप्तिको मार्गमा लयवद्द छ? वा विचलित छ?
यिनै सवालहरुको निरुपण नै सुन्दर, दगो, आधुनिक, समन्यायिक र गुणस्तरीय कावासोती नगरीको आधार हो भन्ने लाग्दछ ।
प्रकाशित : २०८१ असार १० गते २२:०२
Facebook Comment