स्थानीय रुपमा उत्पादन भएका फूलको प्रयोग गर्न नवलपुरका स्थानिय तहको जोड, प्लास्टिकका फूलको बिक्रीवितरण्मा रोक

NAWALPUR TIMES

स्थानीय रुपमा उत्पादन भएका फूलको प्रयोग गर्न नवलपुरका स्थानिय तहको जोड, प्लास्टिकका फूलको बिक्रीवितरण्मा रोक
marigold flowers orange pixabay 12708

कावासोती । नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेका छन् ।

आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।

तिहारको समयमा प्लाष्टिकका फूलमालाले बजार नै छपक्कै ढाकिन्छ । यस्ता प्लाष्टिकका फूलमालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा यहाँका आठवटै स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् ।

साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचनामार्फत अनुरोध गरेका छन् । स्थानीयस्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न यहाँका कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएका थिए ।

कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको बताइन् ।

सामाजिक सञ्जालको प्रयोग गरी, स्थानीय पुष्पखेती गर्ने किसानसँग समन्वय गर्दै उनीहरूको सम्पर्क नम्बरसहित पालिकाको पेजमार्फत सूचित गर्ने काम गरिएको उनले बताइन् ।

पालिकाभित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्नसक्ने उनले बताइन्। पालिकाभित्र १२ स्थानमा पुष्पखेती गरिएको र कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

जिल्लाको देवचुली नगरपालिकाले समेत युवालक्षित पुष्पखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय उत्पादनबाट नै पालिकाको माग पूरा गर्न पुष्पखेतीमा बीउ बिरुवामा अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख पार्वता तिवारीले बताइन् ।

उनले देवचुलीमा प्लाष्टिकका फूलमालालाई प्रतिबन्ध गरेको बताइन् । स्थानीय पुष्पखेती गर्ने किसानलाई हौसला दिन र वातावरण स्वच्छ राख्नका लागि किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न पालिकावासीमा अनुरोध गरिएको उनले जानकारी दिइन् ।

उनले स्थानीय किसानले उत्पादन गरेका फूलमालाको बजारीकरणमा पालिकाले समन्वय र सहजीकरण गर्ने बताइन्।रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology