स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, ६४ करोड बजेट निकासा

NAWALPUR TIMES

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, ६४ करोड बजेट निकासा
Health 1

काठमाडौं, १३ भदौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शैंयाको अस्पताल सेवा तत्कालै शुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको छ ।

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री ढकालले सामूहिक लडाइँले मात्रै कोरोनालाई परास्त गर्न सकिने बताएका छन् । हिसान, चिकित्सक संघ, नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतिनिधिहरुसँग शुक्रबार संयुक्त छलफलको क्रममा मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

काम गर्नेक्रममा केही कमजोरीहरु भएका भए त्यसलाई सुधार गरेर अघि बढ्ने पनि मन्त्री ढकालले बताएका छन् । फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउँदै मन्त्री ढकालले उनीहरुले पाउने सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद नगर्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology