सुरुमा दुई छोरीलाई विष खुवाइन् अनि आमाले पनि खाइन्…

NAWALPUR TIMES

हरि शर्मा/परासी : दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएको प्रहरीले जनाएको छ।

विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिए।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याइएका उनीहरुको त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो। उपचारका क्रममा तिनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डीएसपी लामाले जानकारी दिए।

बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जनाले कोठामा बसेर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। विष सेवन पश्चात् घरभित्रबाट चिच्चाहटको आवाज आएको सनेुपछि स्थानीय घरको छतबाट कोठामा पुगेका थिए। कोठामा दुई वटा चिया पिउने गिलासमा पानी जस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीलाई दिएको हुन सक्ने प्रहरीले जनाएको छ।

मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन्। चौधरीका सन्तानमा दुई छोरी मात्र रहेको प्रहरीले जनाएको छ। घरमा ३ जना मात्र बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology