सुँड काटिएको सौराहाको हात्तीले आफै दाना खान थाल्यो

NAWALPUR TIMES

सुँड काटिएको सौराहाको हात्तीले आफै दाना खान थाल्यो
hatti sudh 1024x624 1

चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफै खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए ।

सुँड काटिएको एक महिनापछि पानी आफँै खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफै खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उनले भने, ‘हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु ।’

हात्तीले अहिले पानीले आफै नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफँ छर्कने, जङ्गलमा गएर हाँगा लुछ्ने, पात टिप्ने लगायतका काम गर्न थालेको उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको हो । उनले भने, ‘हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन ।’

हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ । हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन् । हात्तीलाई यो ढङ्गको आक्रमण पहिलो पटक भएको हो । रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ । सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology