सीजी ब्रुअरीका आन्दोलनरत मजदुरमाथि लाठीचार्ज, २ जना घाइते

NAWALPUR TIMES

सीजी ब्रुअरीका आन्दोलनरत मजदुरमाथि लाठीचार्ज, २ जना घाइते
thumb 6

 नारायण शर्मा, कावासोती । दुम्कौलीस्थित सीजी ब्रुअरीमा आन्दोलनरत मजदुरमाथि प्रहरीले लाठी चार्ज गर्दा २ जना घाइते भएका छन् । इन्जिनियरिङ कोठाभित्र छिरेका मजदुरहरुलाई निकाल्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो ।

सुरक्षामा खटिएका प्रहरी निरीक्षक साजन शर्माले मजदुरहरुको कुटाइबाट कारखाना व्यवस्थानका दुई जना घाइते भएको बताए । ‘घाइतेको विवरण पछि दिनेछु,’ उनले भने ।

यस वर्ष ब्रुअरीले मजदुरहरुलाई बोनस नदिएकोले बुधबार बिहानैदेखि आन्दोलन थालेको ब्रुअरीका मजदुर नेता शशी सिग्देलले बताए । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित मजदुरहरु प्रतिकारमा उत्रिएको सिग्देलको भनाइ छ ।

बुधबार बिहानैदेखि आन्दोलन थालेका मजदुरहरुले कारखाना हातामा प्रहरी बोलाएर हस्तक्षेप गरेको विरोधमा राति ८ बजेपछि कारखाना व्यवस्थापनविरुद्ध नाराबाजी गरेका छन् ।

सीजी ब्रुअरी नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष सूर्यनाथ ढकालका अनुसार हरेक वर्ष कम्पनीले कमाएको नाफाको आधारमा मजदुरलाई १० प्रतिशत बोनस दिँदै आएकोमा यस वर्ष नदिने घोषणा गरेकोले मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

‘हरेक वर्ष बोनस दिँदै आएको हो । यो वर्ष झन् धेरै नाफामा हुँदा पनि बोनस नदिने भन्ने घोषणा भएपछि आन्दोलनमा उत्रिएका हौं,’ मजदुर नेता ढकालले भने ।

ब्रुअरीमा ३ सय २५ मजदुर कार्यरत छन् । सीजी ब्रुअरीले नेपाल आइस, मुस्ताङलगायतका बियर उत्पादन गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयले मजदुर आन्दोलन भएका कारण सुरक्षाकर्मी खटाइएको जानकारी दियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology