सिजी ब्रुअरीमा प्रहरीको लाठीचार्जबाट दस मजदुर घाइते

NAWALPUR TIMES

सिजी ब्रुअरीमा प्रहरीको लाठीचार्जबाट दस मजदुर घाइते
thumb 1 1

नारायण शर्मा, कावासोती । दुम्कौली स्थित सिजी ब्रुअरीमा मजदुरले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा बुधबार राति प्रहरीले हस्तक्षेप गर्दा १० मजदुर घाइते भएका छन् ।

नेपाल कारखाना श्रमिक सिजी ब्रुअरीद्वारा बिहीबार बिहान प्रकाशित विज्ञप्तिमा प्रहरी हस्तक्षेपबाट १० मजदुर घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

प्रहरीले बुधबार राति लाठि चार्ज गर्दा त्यहाँ कार्यरत मजदुरहरु चुनबहादुर सुनारी, शुकबहादुर माकिम, लक्ष्मण कोइराला, कृष्ण श्रेष्ठ, अरुण चौधरी, अर्जुन विक, मनिष पंज्ञेनी, सुशील पण्डित, मनिषा देवकोटा, निरज काफले घाइते भएका हुन् ।

दसैंको बेलामा हरेक वर्षझैं यो वर्ष पनि नगद बोनस पाउनुपर्ने माग राख्दै बुधबार बिहानबाट त्यहाँका मजदुर आन्दोलमा उत्रिएका छन् । मजदुरहरुले बियर उत्पादनमा बाधा नगरि शान्तिपूर्ण आन्दोलन गर्दा कारखाना व्यवस्थापनले प्रहरी बोलाएर कुटपिट गराएको मजदुर नेता शशि सिग्देलले बताए । ‘हामी बोनस पाउनुपर्ने माग राखेर आन्दोलनमा थियौं एक्कासि प्रहरी बोलाएर कुटपिट गराइयो,’ सिग्देलले टेलिफोनमा भने, ‘शान्तिपूर्ण माग राखेर विरोध उत्रिएका मजदुरलाई कुटाएर कारखाना व्यवस्थापनले निर्लज्जता प्रर्दशन गरेको छ ।’

ब्रुअरीमा ३ सय २५ मजदुर कार्यरत छन् । सिजी ब्रुअरीले नेपाल आइस, लगायतका बियर उत्पादन गर्दै आएको छ ।

आन्तरिक राजश्व कार्यालयका अनुसार यो वर्ष सिजी ब्रुअरीले २८ लाख कार्टुन बियर उत्पादन गरेको छ । मजदुरहरुले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । नेपालमा टुबोर्ग बियर समेतका उत्पादक गोर्खा ब्रुअरी पछि सिजी ब्रुअरी बियर उत्पादनको हिसाबले दोस्रो ठूलो कम्पनी हो ।

बुधबार राति पटकपटक झडप भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई चौधरी उद्योगमा खटाइएको छ । मजदुर आन्दोलनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक खड्ग पौडेल सम्पर्कमा आएका छैनन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology