सामाजिक सञ्जालमा निष्कृय भयो ‘हेलो सरकार’ ?

NAWALPUR TIMES

सामाजिक सञ्जालमा  निष्कृय भयो ‘हेलो सरकार’ ?
hello sarkar techpana

काठमाडौं । सरकारले जनगुनासो सुन्नका लागि सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ सामाजिक सञ्जालमा निष्कृय बनेको छ । एकताका सामाजिक सञ्जालमा निकै सक्रिय ‘हेलो सरकार’को फेसबुक अकाउन्ट २६ महिनादेखि र ट्वीटर ह्यान्डल १८ महिनादेखि निष्कृय बनेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा सरकारका आधिकारिक निर्णय तथा सूचनामा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल, व्यक्तिगत ट्वीटर ह्यान्डल र प्रधानमन्त्रीका प्रेस सल्लाहकारको ह्यान्डल सक्रिय रहँदा ‘हेलो सरकार’ ओझेलमा परेको थियो । कतिपय पटक बाझिने अवस्थासमेत देखिएपछि ‘हेलो सरकार’को ट्वीटर तथा फेसबुक अपडेट बन्द भएको हो ।

यद्यपि वेब पोर्टलमार्फत भने ‘हेलो सरकार’ले गुनासो सुन्ने तथा त्यसको फलोअप गर्ने कार्य जारी राखेको उपसचिव छविलाल पाण्डेले बताए ।
सामाजिक सञ्जालमा निष्कृय भयो ‘हेलो सरकार’ ? 1

‘हामीले सामाजिक सञ्जालमार्फत प्राप्त हुने गुनासो तथा सूचनालाई समेत टिप्ने र सम्बन्धित निकायमा पठाउने कार्य गरिरहेकै छौँ,’ उनले भने, ‘तर पब्लिक पोस्ट गर्ने विषयमा भने एकद्वार नीति अपनाउने भन्ने कुरा थियो । त्यो विषय टुङ्गिन नसकेपछि पब्लिक पोस्ट गरेका छैनौँ ।’

नेपाल सरकारको आधिकारिक सामाजिक सञ्जाल भए पनि अहिले आधिकारिक सूचना तथा जानकारी निर्क्यौल गर्ने तथा सार्वजनिक गर्ने अधिकार भने  ‘हेलो सरकार’ लाई दिइएको छैन । सूचना सम्प्रेषणको विषयमा ‘हेलो सरकार’ र प्रधानमन्त्री कार्यालयबीच समन्वय हुन नसक्दा पब्लिक अपडेट बन्द गरिएको उपसचिव पाण्डेको भनाई छ ।

हाल ‘हेलो सरकार’को वेब पोर्टलमा ३५०० भन्दा बढी निकाय आवद्ध रहेको भन्दै उनले प्राप्त गुनासो सम्बन्धित निकायमा पठाउने गरिएको बताए । ‘माथिल्लो निकायसँग ‘हेलो सरकार’को समाजिक सञ्जाल सक्रिय राख्ने विषयमा बेलाबेला छलफल भइरहेको हुन्छ,’ उनले भने ।

सात घन्टाका चार सिफ्ट बनाएर २४ सै घन्टा नियमित राख्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ अहिले केवल दुई सिफ्टमा मात्रै सञ्चालनमा छ ।

बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि राति ९ बजेसम्म गरी ‘हेलो सरकार’लाई अहिले दुई सिफ्टमा सीमित गरिएको छ । त्यसमाथि कोभिड १९ को महामारीलाई देखाउँदै बेलुकाको सिफ्टलाई ७ बजेसम्म छोट्याइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology