सानै उमेरमा आमा : तथ्यांक डरलाग्दाे, झन्-झन् बढ्दै जाेखिम

NAWALPUR TIMES

सानै उमेरमा आमा : तथ्यांक डरलाग्दाे, झन्-झन् बढ्दै जाेखिम
download 1 1

चितवन– सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्षभन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।

यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमा नै नवजात शिशु जन्माएका हुन् । उनले भनिन्,“यसै वर्षबाट यो तथ्याङ्क राखिएको हो । गत वर्षको तुलना गर्न सकिँदैन ।” चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका ६ हजार तीन सय ८९ जनाले शिशु जन्माएको उनले बताइन् । उनीहरुमध्ये दुई हजार एक सय ८६ जनाले दक्ष प्रसूतिकर्मीबाट, चार हजार सात सय ४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमानै बच्चा जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनका अनुसार जिल्लामा यसवर्षको हालसम्म एक सय ३९ शिशु मृतावस्थामा जन्मिएका थिए । यस्तै दुई सय ३३ आमाले दुई शिशु जन्माएका छन् । अघिल्लो आर्थिक वर्षमा दुई हजार सात सय पाँच जनाले २० वर्ष भन्दा कम उमेरमा पहिलो गर्भ जाँच गराएका थिए । तीमध्ये १६, २०, २४,३२ र ३६ हप्तामा एक हजार ४६ जनाले गर्भ परीक्षण गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सोही समयमा २० वर्ष भन्दा माथिका १८ हजार तीन सय ३९ जनाले पहिलो पटक गर्भ परीक्षण गराएका थिए । भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार कम उमेरमा नवजात जन्माउँदा आमा र शिशु दुबैको ज्यानको खतरा हुने गर्दछ ।

कम उमेरमा शिशु जन्माउँदा आमा शारीरिक तथा मानसिक रुपमासमेत तयार भइसकेको नहुने भएकाले शिशुका स्वास्थ्यमा समस्या आउने सक्ने उनले बताइन् । उनका अनुसार सानो उमेरमा विवाह गरेर शिशु जन्माउने गर्दा पाठेघरमा समस्या आउने गरेको छ । बढी सङ्ख्यामा ग्रामीण क्षेत्र र सीमान्तकृत समुदायमा यो समस्या रहेको उनको भनाइ छ ।

चेतनाको अभावका कारण यो समस्या देखिएको जनाउँदै उनले भनिन्,“परीक्षणमा आउनेलाई गाउँमा सानै उमेरमा विवाह गर्न नहुने सम्बन्धी चेतनासमेत दिने गरेका छौँ ।”सानो उमेरमा शिशु जन्माउँदा आमामा उच्च रक्तचापका कारण बेहोस हुने, शिशु कम तौलको जन्मने, आमामा सङ्क्रमण हुने जस्ता समस्या देखिने गरेको उनले बताइन् ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology