सानदार ब्याटिङसँगै एक खेल अगावै नेपाल सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १४ गते १६:२९
सानदार ब्याटिङसँगै एक खेल अगावै नेपाल सेमिफाइनलमा
kushal malla 1

कावासोती । सानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूहचरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । मलेसिया र सिंगापुर दुबै समूहचरणको एक खेलअगावै नकआउट दौडबाट बाहिरिएका छन् ।

भुर्तेल र आसिफले ५ ओभरमा ४९ रन जोडि नेपाललाई सानदार सुरुआत दिलाएका थिए । भुर्तेल समान ४ चौका र छक्का प्रहार गरि आउट भए । आसिफ र मल्लले १० ओभरमा नेपालको स्कोरलाई ९५ रनसम्म पुर्‍याए । मोहम्मद अमिरको बलमा कट एन्ड बोल्ड हुनु पूर्व आसिफले १ चौका र २ छक्का प्रहार गरे ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियका विश्व कीर्तिमानधारी मल्लको यो तेस्रो अर्धशतक हो । उनी पनि कट एन्ड बोल्ड भए र खेलमा अमिरको तेस्रो शिकार भए । उनले कुल २ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

यसअघि टस जितेको मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई १ सय रन ६५ बनाएको थियो ।ओपनर सैयद अजिजले मलेसियाबाट सर्वाधिक ६८ रन बनाए । गुल्शन झाको बलमा आउट हुनु अघि उनले ८ चौका र २ छक्का प्रहार गरे । अजिजले जुबाइदी जुलकिफ्लेसँग मिलेर मलेसियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनीहरुले पावर प्लेमा ५८ रन जोडेका थिए ।

छैटौं ओभरको पाँचौं बलमा अविनाश बोहराले जुलकिफ्लेलाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि मलेसियाको नियमीत विकेट झरि रहयो । कप्तान अहमद फैज ३ रनमा रनआउट भए । वीरनदीप सिंहलाई सन्दीप लामिछानेले ४ रनमा एलबीडब्लु आउट गरे ।

कामचलाउ बलर कप्तान रोहित पौडेलले सार्विन मुनिएन्डीलाई १३ रनमा कट एन्ड बोल्ड गरे । अविनाशले मोहम्मद अमिरलाई ८ रनमा बोल्ड गरे । अविनाशले नेपालबाट ४ विकेट लिए । अघिल्लो दिन सिंगापुरविरुद्ध पनि ३ विकेट लिएका अविनाशले ४ ओभरमा २७ रन खर्चेका थिए ।

प्रकाशित : २०८० कार्तिक १४ गते १६:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI