सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत सवस्टेशन

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २० गते १०:०४
सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत सवस्टेशन
323176913 1380581439412564 7902687294788249884 n

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्ष अघि निर्माण सुरु गरिएको विद्युत सवस्टेशनको निर्माण कार्य बल्ल पुरा भएको छ ।

विसं २०७३ सालमा तीन वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरि जिल्लाको पहाडी क्षेत्र बोझापोखरीमा विद्युत सवस्टेशन निर्माणको काम सुरु गरिएको थियो । पहिलो सम्झौता अनुसार विसं २०७५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर त्यस अवधिमा जम्मा ५ प्रतिशत काममात्रै भएर झण्डै रुग्ण आयोजनाको रुपमा परिणत भएको सवस्टेशन निर्माण कार्य पटक पटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चारवर्ष पछि निर्माण सम्पन्न भएको हो ।

नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार सहित हुप्सेकोटको पहाडी क्षेत्रमा विद्युतिकरण गर्ने गरि आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समय सम्म अलपत्र बनेको सबस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणको बाटो खुलेको छ । जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार रहेका छन् । तनहुँ तर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतिकरण गरिएको छ । कतिपय स्थानमा लघुजल विद्युत्बाट विद्युतिकरण गरिएको भएपनि आवश्यक माग अनुसार आपूर्ति हुन सकेको छैन् । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । अब बोझा पोखरीको सवस्टेशन निर्माणको काम सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणमा सहजता हुने नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थिले बताउनुभयो । ‘आयोजनाको काम सकिएको छ, अहिले सबस्टेशन चार्ज गर्ने काम चलिरहेको छ, चाडै यहाँबाट जिल्लाको पहाडी क्षेत्रमा विजुली बाल्ने काम हुनेछ ’ सहायक प्रबन्धक पन्थिले भन्नुभयो ।

उहाँका अनुसार यही पुस १४ गतेबाट नवलपुरको प्रगतिनगरबाट करेन्ट प्रवाह गरि लाइन चार्ज गर्ने र सवस्टेशन चार्जगर्ने काम सुरु भएको छ । यस लगतै ११ हजार केभिको लाइन चार्ज गरि स्थानीय स्तरमा वितरणको काम सुरु हुने छ । आयोजना मार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादी सम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ हजार केभिको लाइन समेत बितरण हुने छ । त्यसका लागि पोल गाड्ने र तार टाङ्ने कतिपय काम सकिएको छ ।‘सवस्टेशन सञ्चालन पछि केही क्षेत्रमा स्थानीय स्तरमा विद्युत वितरणका लागि आयोजनाबाट काम हुनेछ, त्यस बाहेक सम्बन्धित जिल्लाबाट विद्युत वितरणको काम हुने छ’ सहायक प्रबन्धक पन्थिले भन्नुभयो ‘ढिलोमा एक महिनामा सबै काम सकिने विश्वास छ, हामीले निर्माणको जिम्मा पाएको कम्पनीलाई सोही अनुसार काम गर्न भनेका छौ।’बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा ट्रान्सफर्मर जडान गरि बत्ती बाल्ने तयारी गरिएको उहाँले बताउनुभयो । सवस्टेशन निर्माणको काम अलपत्र पर्दा लामो समय देखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएकाछन् ।

कोभिडको प्रवाह र विभिन्न कारणले आयोजना निर्माण हुन समय लागेको सहायक प्रबन्धक पन्थिले बताउनुभयो । भारतिय एटुजेड ईन्फ्रा ईन्जिनियररिंग कम्पनि मार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिंङ्गले करिब रु. १२ करोडको लागतमा सवस्टेशन निर्माणको जिम्मा पाएको थियो ।-रासस

प्रकाशित : २०७९ पुष २० गते १०:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI