सरकारको आग्रह- संक्रमणको जोखिमलाई ध्यान दिउँं, आशीर्वादलाई बचाऔं

NAWALPUR TIMES

सरकारको आग्रह- संक्रमणको जोखिमलाई ध्यान दिउँं, आशीर्वादलाई बचाऔं
1600183142.Pradeep Gnyawali

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च बनेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने कार्य नगर्न आग्रह गरे।

 

‘‘अरू जिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख भइरहेको भए पनि काठमाडौं उपत्यका अझै पनि उच्च जोखिममा छ,’’ उनले भने, ‘‘हाल प्रत्येक दिन देखिने संक्रमितहरूमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन्। अहिलेसम्म त्यो संक्रमण नियन्त्रण उन्मुख नदेखिएकाले काठमाडौं उपत्यकावासीले अत्यन्तै धेरै सतर्कता अपनाउन जरूरी छ।’’

 

प्रवक्ता ज्ञवालीले ४३ लाख बसोबास रहेको यो उपत्यकामा संक्रमण अनियन्त्रित भए त्यसले निकै ठूलो जोखिममा पुर्‍याउन सक्ने बताए। आफूले सेवा लिँदा वा दिँदा, व्यापार गर्दा, सार्वजनिक तथा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अरू खालका गतिविधिहरूमा कारोनाको उच्च जोखिमलाई ध्यान दिन उनले आग्रह गरे।

 

चाडवाड नजिकिँदै गर्दा जोखिमलाई ध्यान नदिए ठूलो क्षति हुनेतर्फ प्रवक्ता ज्ञवालीले सचेत गराएका छन्।

 

‘‘हामी स्वस्थ रह्यौं भने फेरि-फेरि पनि चाडवाडहरू मनाउन सक्छौं,’’ उनले भने, ‘‘दसैंको एउटा मुख्य विशेषता पारिवारिक पुनर्मिलन, आफूभन्दा अग्रजबाट शुभ आशिष लिने हो। तर, यतिबेला सबैभन्दा जोखिममा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ। त्यसैले दसैं मनाउँदा हाम्रा अभिभावकहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखौं।’’

 

पहिलेजस्तो काठमाडौंबाट गाउँ, गाउँबाट काठमाडौं आउने जाने गर्दा संक्रमण पनि सँगसँगै ओहोरदोहार गर्ने जोखिम रहेकोतर्फ उनले सचेत गराएका छन्। ‘‘आशिष हामीले टाढैबाट पनि लिन सक्छौं। उहाँहरू स्वस्थ रहनुभयो भने यस्ता अवसरहरू पटक–पटक आउँछन्। तर, हाम्रो साना लापारवाहीले उहाँहरूको स्वास्थ्यमा ठूलो जोखिम देखिन सक्छ,’’ प्रवक्ता ज्ञवालीले भने।

 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा कम उमेरकाको संक्रमण दर मृत्युदर तुलनात्मक रूपमा कम र माथिकालाई जोखिम बढी रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकलाई संक्रमण हुनबाट जोगाएर ‘आशीर्वाद’लाई बचाउन आग्रह गरे।

 

‘‘यसपटक चाडवाडमा हुने जोखिमलाई ध्यानमा राखेर सरकारको तर्फबाट सीसीएमसी र स्वास्थ्य मन्त्रालयले ‘आशीर्वाद बचाऔं’ भन्ने नारा तय गरेको छ। म पुनः सबै नेपालीहरूलाई यसको पूर्णपालना गर्न अनुरोध गर्दछु,’’ प्रवक्ता ज्ञवालीले भने।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology