सन्दीप लामिछाने युएई जान पाउलान् ? आज हुँदैछ मुद्दामा सुनुवाइ

NAWALPUR TIMES

सन्दीप लामिछाने युएई जान पाउलान् ? आज हुँदैछ मुद्दामा सुनुवाइ
1676977210828 1

सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदन  र सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दुवै रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

यसअघि अदालतले सन्दीपलाई र्युएइमा खेल्न जाने अनुमति दिन अस्वीकार गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने शर्त राखेको थियो । उच्चको विदेश जान नपाउने शर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । उनको मागबमोजिम यसअघि आदेश जारी भएन भने आज पनि सुनुवाइ हुँदैछ ।

“उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाई प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाई कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन मागअनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन,” आदेशमा भनिएको छ, “उही एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदनउपर एकैसाथ सुनुवाई हुनु आवश्यक देखिन्छ ।”

त्यसैले आगामी हप्तामा नै खेलिने अन्तर्राष्ट्रिय क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदनउपरको सुनुवाईमा ढिलाई हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जानेसमेत देखिएको इजलासले आदेशमा उल्लेख गरेको छ ।

त्यसैले सुनुवाईका लागि अग्राधिकारसमेत प्रदान गरी आज संयुक्त इजलासमा पेस गर्न आदेश दिइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology