सडक बिस्तारसँगै हराए यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी

NAWALPUR TIMES

सडक बिस्तारसँगै हराए यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी
Chautari

कावासोती(रासस) : पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकको बिस्तारको काम सँगै सडक छेउमा रहेका यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारीहरु मासिएका छन ।

नारायणघाट देखि बुटवल सडक बिस्तार गर्ने क्रममा बाटोको क्षेत्र भित्र पर्ने सबै चौतारा र यात्रु प्रतिक्षालय मासिए पछि सवारी साधन कुर्न बस्ने यात्रुहरुलाई असहजता भएको छ भने गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रुपमा समेत चौतारी समेत नहुदाँ पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन ।

केहि वर्ष अघि सम्म थकाई मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिसहरु ठाँउ ठाँउका चौतारीहरुमा प्रशस्त देखिन्थ्यो । तर अहिले वर पिपल स्वामीका बोट सहितका चौतारा देखिन छोडेका देवचुली–१५ का बलराम पोख्रेलले बताउनु भयो । “कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पीपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रुपमा समेत चौतारीको प्रयोग गर्ने गरिन्थ्यो, तर बाटो बिस्तार सँगै सबै मासिएर गए”, पोख्रेलले दुखेसो गर्नभयो । पोख्रेल मात्रै होईन विगत ३ वर्ष अगाडी सम्म फुर्सदको समयमा आफ्ना उमेरका साथीहरु सँग कावासोती–११ को लोकाहामा रहेको यात्रु प्रतिक्षालयमा भलाकुसारी गरेर गरेर दिन कटाउदै आउनु भएका डबलबहादुर कुँवर चौतारी मासिदा अबका पुस्ताले चौतारीनै नदेख्ने हुनकी भन्ने पीरले सताएको बताउनुहुन्छ ।

पूर्व पश्चिम राजमार्गको गैँडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटरर दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर गरेर १ सय १३ किलोमिटर सडकको क्षेत्र भित्र परेका सयौंको संख्यामा रहेका चौतारी र यात्रु प्रतिक्षालय हटाएको हो ।

सडक बिस्तारको कारण चौतारीहरु धमाधम मासिदै गएको प्रतिचिन्ता व्यक्त गर्दै कावासोती ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले चौतारी र प्रतिक्षालयहरुलाई पायक पर्ने स्थानमा पुःन निमार्ण गर्नु पर्नेे बताउनु भयो । विकासको नाउँमा हुने यस प्रकारको बिनासको तत्काल विकल्प खोजिनु पर्ने र चौतारीलाई पुनः अन्य सार्वजनिक महत्वका स्थानमा स्तान्तरण सङ्गै संरक्षण गर्नु पर्ने अधिकारीले बताउनु भयो । हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने, गाँउबेसी गर्दा भारी बिसाउनको लागि, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरेका हाल त्यस्तो कार्य प्रति चासो कम गएकोले लोप हुन लागेकोले संरक्षणको लागी राज्यले नै विशेष कार्यक्रम सुरु गर्नु पर्ने वडा अध्यक्ष अधिकारी बताउनु हुन्छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडकको चपेटामा परेका छन् यस्ता चौतारीहरु । ग्रामीण क्षेत्रको मौलिकता बचाउने काममा लाग्नुपर्ने स्थानीय तहको प्राथमिकतामा यस्ता विषय भने पर्न सकेका छैनन् । विकास भनेको विनास होइन । आवश्यकतानुसार मौलिकता जोगाउँदै गरिने विकासले मात्रै सही प्रतिफल दिन्छ । ग्रामीण जीवनका चिनारीको संरक्षण गरेर मात्रै विकासको गति बढाउनुपर्ने स्थानीयको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology