सडक बिस्तारको क्रममा नवलपुरमा ५७ किलोमीटर खानेपानी पाईपलाईन प्रभावित

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष ४ गते २०:३०
सडक बिस्तारको क्रममा नवलपुरमा ५७ किलोमीटर खानेपानी पाईपलाईन प्रभावित
pahoto2022 12 14 04 50 02

कावासोती(रासस) :नारायणघाट बुटवल सडक विस्तारका क्रममा नवलपुरका १९ वटा खानेपानी उपभोक्ता समितिहरु प्रभावित भएका छन् । आयोजनाको पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्ने सम्मको ६६.५ किलोमिटर सडक निर्माणको क्रममा १९ वटा खानेपानी उपभोक्ता समितिको ५७ किलोमिटर खानेपानी पाइपलाइन प्रभावित भएको जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।

अध्यक्ष भुसालका अनुसार ५७ किलोमिटर पाइपलाइन प्रभावित भएपछि नयाँ पाइपलाइन बनाउनका लागि करिब रु १० करोड खर्च लाग्ने भएको छ । सडकभित्र परेका पाइपलाइन हटाएर नयाँ पाइपलाइन विस्तार गर्न लाग्ने ठूलो खर्च निर्माण कम्पनिले नव्यहोर्ने भएकाले उपभोक्ता समितिलाई ठूलो आर्थिक भार पर्ने देखिएको हो । “५७ किलोमिटर नयाँ पाइपलाइन विस्तार र मर्मत गर्दा १० करोड बढी लाग्ने र यसले उपभोक्ता समितिहरुलाई आर्थिक भार परेको छ”, अध्यक्ष भुसालले बताउनुभयो । उहाँका अनुसार नयाँ पाइपलाइन विस्तार गर्दा सडकका दुवै किनारमा परेका ६३ मिलिलिटरका क्षमताका पाइपलाइनलाई हटाएर एक सय १० मिलिलिटरको क्षमताको पाइपलाइन विस्तार गर्ने गरी उपभोक्ता समितिहरुले तयारी गरेका छन् ।

सडक विस्तारसँगै कल्भर्ट, पुल निर्माणका क्रममा खानेपानीको पाइपलाइनमा क्षति पुगेको बताउँदै भुसालले मुख्य सडकसँग जोडिएका १९ वटा खानेपानी उपभोक्ता समितिका पाँच हजार उपभोक्ता प्रत्यक्ष प्रभावित हुने तथा मुख्य राजमार्ग बाहेकका अन्य क्षेत्रका २५ हजार उपभोक्तासमेत प्रभावित हुने बताउनुभयो । बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न केही जटिलता रहेको बताउँदै उहाँले प्राविधिक रुपमा अध्ययन गरिरहेको बताउनुभयो । बजार क्षेत्रमा अहिले बन्दै गरेको सडकको किनारा कति पय घर नजिकै पुग्ने भएकाले पनि पाइपलाइन विस्तारमा जटिलता देखिएको हो ।

पूर्वपश्चिम सडक आयोजनाको पूर्वी खण्डमा अहिलेसम्म १२ वटा ठूला पुलमध्ये १२ स्थानमा नै पुल निर्माणको काम भइरहेकोे छ । २२ साना पुलमध्ये १३ स्थानमा काम सकिएको छ भने अन्यमा काम भइरहेको छ । गैँडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई एक प्याकेज र दाउन्नेबाट बुटवल चौराहा सम्मको ४८.५ किलोमिटर खण्डलाई अर्को प्याकेज गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कूल लम्बाइ एक सय १३ किलोमिटर रहेको छ ।

प्रकाशित : २०७९ पुष ४ गते २०:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI