सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषदको स्वीकृति

NAWALPUR TIMES

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषदको स्वीकृति
1606321166265

काठमाडौँ। सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो।

 

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन्।

 

आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिएकी छिन्।

 

“सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाइ मापन गरेको छ, त्यो कार्य अहिले सम्पन्न भएको छ,” उनले भनिन्, “अब हामी आफैले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ।”

 

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो।

 

मन्त्रीपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ।

 

सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए।

 

यसअघि विभिन्न देशहरूले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए। पछिल्लोपटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८,८४८ मिटर हालसम्म कायम रहिआएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology