संरक्षित क्षेत्र बाहिर संकटमा बाघ

NAWALPUR TIMES

संरक्षित क्षेत्र बाहिर संकटमा बाघ
tiger

सन्जय भट्टराई कावासोती ।   नेपालका संरक्षित क्षेत्र बाहिर अर्थात राष्ट्रिय तथा सामुदायिक वनमा बाघहरु असुरक्षित हुँदै जादा बाघ संरक्षणमा चिन्ता थपिएको छ । एक हप्ताको अन्तरालमा नवलपुरमा २ वटा पाटे बाघ मृत फेला परे पछि संरक्षणकर्मीहरुले चिन्ता र चासो व्यक्त गरेका हुन ।

शनिबार मध्यविन्दु नगरपालिकाको १५ मा भाले बाघ हत्या गरेर गाडिएको अवस्थामा फेला परेको थियो । १०४ इन्च र मोटाइ ४० इन्च रहेको व्यस्क भाले बाघ बाघ गन्हाएपछि वन हेरालुले देखे पछि सरोकारवालाहरुलाइ खबर गरेका थिए । सब डिभिजन वन कार्यालय चोरमाराका अधिकृत दुर्गादत्त कंडेलका अनुसार गाडिएको अवस्थामा फेला परेको बाघको खुट्टाको माथिल्लो भागमा काटिएको घाउ रहेको छ । खाल्डाबाट निकालिएको बाघको आईतबार राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक र प्राविधिक टोलिले पोस्टमार्टम गर्ने तयारी रहेको छ । अधिकृत कंडेलका अनुसार बाघ मारेर नै गाडिएको प्रष्ट भए पनि मृत्युको कारण पत्ता लागि नसकेको हो ।

यस अघि गएको ४ फागुनमा मध्यविन्दु–१५ को अरुणखोलाको जंगलमा भाले पाटेबाघ मृत फेला परेको थियो । उक्त बाघको पोस्टमार्टम रिपोर्ट आईनसकेको भए पनि विषादीको कारण मरेको प्रारम्भिक अनुसन्धानले देखाएको बाघको पोस्टमार्टम गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी प्राविधिक किरणबाबु रिजालले बताए ।

शनिबार बाघ मरेको स्थान आसपास किला गाडेको डोबहरु भेटिएकाले पनि पासोमा पारेर मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक साताको अन्तरालमा मृत फेला परेका बाघको दाह्रा, जुँगा सुरक्षित रहेकाले तस्कर गर्ने गिरोहले वा अरु कसैले मारेको भन्ने एकिन हुन सकेको छैन ।

संरक्षित क्षेत्र बाहिर एक साताको अन्तरालमा दुई वटा दुर्लभ पाटे बाघ मारिएको अवस्थामा फेला पर्नु भनेको निकै चिन्ताको विषय भएको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले बताए । राष्ट्रिय वनमा सुरक्षाका लागी सशस्त्र वनरक्षक भएपनि संख्या निकै कम छ । सिङगो नवलपुरको वन क्षेत्र हेर्न २० जना सशस्त्र वनरक्षक रहेका अधिकारीले बताए । निकुञ्जको सुरक्षा नेपाली सेनाको घेरामा रहने भए पनि सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएकाले अनुसन्धानमा समस्या हुने गरेको उनले बताए । गत साता बाघ मृत फेला परेपछि अनुसन्धान अधिकृत तोकेर नेपाल प्रहरी र सिआईबीको सहयोगमा सुक्षम अनुसन्धान सुरु गरेको अधिकारीले बताए ।

नेपाल प्रहरीले पनि फागुन ४ गते बाघ फेला परेपछि डिभिजन वनको सहयोगमा अनुसन्धानलाई अगाडी बढाएको नवलपुर प्रहरी प्रमुख,  प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । “मृत फेला परेका दुवै बाघको आखेटोपहार सुरक्षित रहेकाले पनि तस्करको कारणले मारिएको हो अन्य कारणले हो यो अनुसन्धानमै रहेको छ”, रेग्मीले भने । आखेटोपहार सुरक्षित रहेकाले पासोमा परेर या मानव वन्यजन्तु द्वन्दका कारणले मारिएको हो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भैरहेको रेग्मीले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार वन्यजन्तुको चोरी–सिकारी गर्ने, आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने तथा ओसारपसार गर्नेलाई पाँच लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology