शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार

NAWALPUR TIMES

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर दुईजना फरार भएका छन् । कालिकोट गेलाका जगत शाही र मनराज शाही शिक्षक सेवा आयोग दिन सुर्खेत आएका परीक्षार्थीबाट ६० लाख असुलेर फरार भएका हुन् ।

उनीहरूले सुर्खेतको मंगलगढीको जेनिथ इन्टिच्युट र एमपीजे मःमः सेन्टरबाट हस्तलिखित प्रश्नउत्तरसहितको फोटोकपी बाँड्दै रकम असुलेको पीडितहरूले बताएका छन् । आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाखका दरले पैसा उठाएका थिए । आफूहरू ठगिएको भन्दै ३० जनाभन्दा बढीले मौखिक रूपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी दिएका छन् ।

१५ चैतबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा पास गरिदिने भन्दै प्रतिव्यक्ति दुई लाखका दरले रकम उठाएर प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाएको कालिका माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका कालिकोटका शिक्षक खेमराज शाहीले बताए ।

फरार जगत शाहीले परीक्षा समयअघि नै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेको र परीक्षार्थीले प्रश्नपत्र उपलब्ध नगराएको कालिकोट खाँडाचक्र नगरपालिका रामबहादुर शाहीले बताए । ‘मसँग दुई लाख रुपैयाँ माग गरेपछि दिएँ,’ उनले भने, ‘मलाई कुनै उत्तरपुस्तिका र प्रश्नपत्र पनि दिइएन । पछि खोज्दा उनको मोबाइल स्विच अफ गरिएको थियो ।’

प्रहरीले जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको जनाएको छ । प्रशिक्षार्थीहरूको गुनासो आएकाले अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख पदम विष्टले बताए । उनीहरूले कालिकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायत जिल्लाका परीक्षार्थीबाट पैसा असुलेको प्रहरीले जनाएको छ ।-नयाँ पत्रीकाबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology