वैज्ञानिक अनुसन्धान : सन २०२० अहिलेसम्मकै तातो वर्ष

NAWALPUR TIMES

वैज्ञानिक अनुसन्धान : सन २०२० अहिलेसम्मकै तातो वर्ष
Hot year 2020
एजेन्सी । सन २०२० अहिलेसम्मकै तातो बर्ष सावित भएको छ । नेशनल ओसेनिक एण्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेसन (नासा) ले जनाए अनुसार सन २०२० अहिलेसम्मकै अधिक गर्मी बर्ष पुष्टि भएको हो । यो वर्ष मानव समुदायले थुप्रै किसिमका जलवायु संकट, अधिकतम तापक्रम, धेरै संख्यामा हावाहुरी, आँधीबेरीलगायतका प्राकृतिक प्रकोप अनि अप्रत्याशित वन डढेलोको सामना गर्नुपरेको थियो।

नासाका अनुसार विश्वव्यापी रुपमा जमिन अनि समुद्रको तापमान अध्ययन गर्दा २०२० मा उच्च तथ्यांक संकलित भएको हो । जसले २०१६ का सबै रेकर्ड तोडेको छ । यसरी विश्वका सात सबैभन्दा गर्मी वर्ष २०१४ पछिका भएकाले पनि सन् २००० को दशकलाई पृथ्वीको सबैभन्दा तातो दशक भनिएको छ ।

वैज्ञानिकहरुले यसका लागि धुवाँ फाल्ने इन्धन, वन फँडानीलगायतका मानव क्रियाकलापलाई जिम्मेवार ठहर्‍याएका छन् । यसरी मानिसले दैनिक ठूलो मात्रामा फाल्ने गरेको ग्रिन हाउस ग्यासले आगामी वर्षहरुमा वातावरणलाई झन् प्रतिकुल बनाउँदै लैजाने र तापक्रम लगातार वृद्धि भइरहने पनि उनीहरुले चेतावनी दिएका छन ।

सन २०२० मा महामारीका कारण जारी लकडाउनले विश्वव्यापी ग्रिन हाउस ग्यासको उत्सर्जन ७ प्रतिशतले घटाए पनि बढ्दो तापमानलाई कम गराउन पर्याप्त नभएको बताइएको छ । सन २०२० को तापमान पूर्वऔद्योगिक युगमाभन्दा बढी हुनु वास्तवमै चिन्ताको विषय भएको पनि वैज्ञानिकहरुले बताएका छन् ।

वातावरण आवश्यकताभन्दा बढी तातो हुँदा त्यसले हिमनदीहरु पगाल्ने गर्छ । जसपछि समुद्री सतह बढ्छ अनि परिणमा स्वरुप मानव समुदायले अझै विनाशकारी र भयानक प्राकृतिक प्रकोपहरुको सामना गर्नुपर्ने हुन्छ । गत वर्ष अमेरिकामा मात्रै धेरै संख्यामा आएको आँधीहुरीले अर्बौं डलरको नोक्सानी गराएको थियो भने सयौं मानिसले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै, अस्ट्रेलिया अनि अमेरिकामा उच्च तापमानका कारण महिनौं लागेको वन डढेलोले पनि धेरै ठूलो क्षेत्रमा नोक्सान पुर्‍याएको छ भने जीवजन्तुसहित मान्छेको समेत ज्यान लिएको थियो ।

त्यस्ता घटना हुन नदिनका लागि अन्तर्राष्ट्रिय रुपमा पेरिस जलवायु सम्झौता स्थापित गरिएको छ । जसमा सहभागी मुलुकले विश्व तापमानलाई १.५ डिग्रीभन्दा बढ्न नदिने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म पनि यस विषयमा कुनै उल्लेखनीय प्रगति हुन नसकेको अनुशन्धानले देखाएको नासाले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology