सन्जय भट्टराई, कावासोती । सोमबार साँझको ४ बजे आसपास कावासोती-११ को लोकाहा खोला किनारमा जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरी र उनको टिम विषाक्त खानाको कारण बिरामी गिद्धहरुको प्राथमिक उपचार गर्दै थिए ।
एउटा डंङ्गर गिद्ध सिकिस्त देखिएको थियो, प्राविधिकहरु त्यो गिद्धको गोजेरोमा बाकी रहेको विषाक्त खानाका टुक्रा निकाल्दै थिए । गिद्धलाई बान्ता गराउने प्रयास गर्दा नसके पछि उनिहरुले गोजेरोबाट खानाका अंश निकाल्न मेहनत गर्दै थिए । लोकाहा खोला किनारमा ५ वटा गिद्ध मरेको खबर पाए पछि घटना स्थल आएको चौधरी सहितको टोलिले ७ वटा गिद्धलाई बिरामी अवस्थामा उद्धार गरे पनि एउटालाई भने बचाउन सकेन्न ।
गएको २०७९ को फागुन यता विषाक्त सिनोको कारण कावासोती नगरपालिकामा २३ गिद्ध मर्दा संरक्षणकर्मीले विषाक्त सिनोबाट गिद्ध जोगाउन ठूलो चुनौती देखेका छ्न ।
गिद्ध संरक्षणको लागि विश्वकै नमूना मानिएको जटायु रेष्टुरेन्ट भएको कावासोती नगरपालिका भित्र एक वर्षको अवधिमा विषाक्त सिनोका कारण २३ वटा गिद्ध मर्नु चिन्ताको विषय भएको जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरी बताउछ्न ।
घरमा पालिएका हाँस कुखुरा जोगाउन मरेका हाँस, कुखुरा तथा अन्य खानामा विष मिसाएर कुकुर, स्याल लगाएतका जनावरलाई आहाराका रुपमा खेतबारी, खोलाका छेउछाउमा राखिनुले पनि विषाक्त सिनोको समस्या पछिल्लो समय बढदै गएको हो ।
विषाक्त आहारा खाएर मरेका कुकुर र स्यालको सिनो खाएकै कारण कावासोतीमा एक वर्षको अवधिमा २३ वटा गिद्ध मरेका र दर्जन बढी बिरामी गिद्धको उपचार गरेको चौधरी बताउछ्न । विषेश गरेर विषादी प्रयोग गरेर मारिएका ब्रोईलर कुखुरा कुकुर र स्याल मार्न प्रयोग गर्ने र तिनै कुकुर र स्यालको सिनो खाएर गिद्धले अकालमा ज्यान गुमाउनु परेको चौधरीको भनाई छ ।
कुनै बेला गिद्ध संरक्षणमा गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधि गिद्ध संरक्षणको चुनौती थियो । त्यो औषधिलाई २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको भए पनि गिद्धलाई हानी गर्ने औषधि अवैधरुपमा भित्रिरहेको र लुकिछिपी बिक्री हुने गरेको चराविदहरुको दाबी छ ।
डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको भए पनि पछिल्लो समय कुकुर, स्याल लगाएतका जनावर मार्ने नियतले खोला जंगल आसपास फालिने खानामा डाईक्लोफेनेक भन्दा कडा विषादी प्रयोग हुने गरेको जसको कारणले गिद्ध तत्काल मर्ने अध्ययनले देखाएको चौधरीले बताए ।
त्यो सँगसँगै जथाभावी फोहोर विसर्जन गर्ने प्रवृत्ति समेत गिद्ध संरक्षणका लागि चुनौती बन्ने गरेको छ । विषाक्त रसायन प्रयोग गरेर मारिएका कुखुरा, कुकुर बिरालो फोहोर सँगै जथाभावी फाल्ने प्रवृत्ति बढदै गएको र गिद्धले तिनैलाई आहारा बनाउदा गिद्ध मर्ने गरेका छ्न । स्थानीय तहबाट फोहोर व्यवस्थापनको काम भएको भए पनि जैविक विविधता जोगाउने गरेर फोहोर व्यवस्थापन स्थानीय तह चुकेको चौधरीले बताए । “विभिन्न कारणले मरेका पशुपन्छी जथाभावी खोला, जंगलमा फाल्ने प्रवृत्ति अहिलेको ठूलो समस्या हो, स्थानीय तहलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको छैन”, चौधरीले भने ।
विगत १६ वर्ष देखि समुदायको सक्रियतामा जटायु रेष्टुरेन्ट स्थापना गरेर गिद्ध संरक्षणमा लागेका चौधरी मात्रै होईन जैविक विविधता संरक्षणमा चासो राख्ने जो कोहिलाई पनि विषाक्त सिनो गिद्ध सहितका चरा प्रजातीका लागि समस्या बन्ने गरेको चिन्ताले सताएको छ । विषाक्त सिनोका कारण गिद्धको मृत्यु हुन्छ भन्ने सचेतना फैलाउन नसक्दा बेला बेलामा गिद्ध संरक्षण अभियानमा ठूलो धक्का लाग्ने गरेको कावासोती-११ का वडा अध्यक्ष एवं संरक्षणकर्मी शारदाप्रसाद अधिकारी बताउछ्न ।
पछिल्लो समय विषादीहरुको बिक्रीवितरण खुल्ला रुपमा हुने गरेकाले स्थानीय स्तरमा यस्को प्रयोग अत्याधिक रुपमा बढने गरेको चरा बिज्ञ डा. हेमसागर बराल बताउछ्न । “पहिले डाईक्लोफेनेकले चरा अर्थात गिद्धलाई मात्रै मार्थ्यो अहिलेको विषले कुकुर, स्याल लगाएतका जनावर सहित गिद्धलाई समेत मारेको छ” बरालले भने “विषादीको नियमन गर्न सकिएन भने यस्ले आगामी दिनमा भयावह अवस्था ल्याउने पक्का छ ।”
विषाक्त सिनो नियन्त्रणका लागि विषादीको बिक्रीवितरणको लागि विज्ञको सिफारिस अनिवार्य गर्नु पर्ने कुरामा बरालले जोड दिए । गिद्ध संरक्षणको केन्द्र जटायु रेष्टुरेन्टको आसपास एक वर्ष भित्र २३ वटा गिद्ध मर्नु आफैमा ठूलो चुनौती भएकाले संरक्षणका क्षेत्रमा भएका कामहरुमा समेत प्रश्न उठने गरेको उनले बताए । “गिद्ध संरक्षणका कुरा त गर्यौ, गिद्ध संरक्षण गरिने केन्द्र नजिकै ठुलो संख्यामा गिद्ध मर्दा संरक्षणकर्मीले चलाएको संरक्षण शिक्षामा समेत प्रश्न उठेको छ”, उनले भने । संरक्षण शिक्षा सँगै विषादीको बिक्रीवितरण र प्रयोगको विषय पनि समेटेर जानू पर्ने उनको भनाइ थियो ।
Facebook Comment