विश्वकप छ्नौटको लक्ष्य सहित मैदानमा उत्रिदैँ नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १३ गते ८:१९
विश्वकप छ्नौटको लक्ष्य सहित मैदानमा उत्रिदैँ नेपाल
1698373251761

कावासोती । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा आज सिंगापुरविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह ‘ए’को यो खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो दिन कुल चार खेल हुनेछन् ।

आजै बिहान नौ बजेदेखि मुलपानी क्रिकेट मैदानमा हुने समूह ‘बी’को खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले बहराइनविरुद्ध खेल्नेछ । यस्तै, दिउँसो १ः१५ बजे कीर्तिपुरमा ओमान र मलेसियाले खेल्दा मुलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

आजदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग त्रिवि मैदानमा खेल्नेछ । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । यस छनोटबाट फाइनल पुग्ने दुई टिम आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित : २०८० कार्तिक १३ गते ८:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI