विवादमा बिदाको निर्णय

NAWALPUR TIMES

विवादमा बिदाको निर्णय
1518213005cabinet office

कावासोती । ‘दुर्घटना भएपछि उद्धार राहतमा पो ध्यान दिने हो । शोकमा परेकालाई सघाउने हो । के के न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुँदैन ।’

ऋाजका लागि सरकारले बिदाको घोषणा गरेपछि सामाजिक सञ्जालमा बिदाको बिरोधको बाढी आएको छ । टिप्पणीकर्ताहरुले भनेका छन्, ‘सार्बजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो ।’ सामाजिक सञ्जालमा यस्ता दर्जनौ टिप्पणी र आक्रोश पोखिएका छन् । पछिल्लो आक्रोश राजनीतिक तथा आर्थिक विश्लेषक डा अच्युत वाग्लेको हो । उहाँजस्ता सयौंले सरकारले दिएको शोक बिदाको सर्बत्र बिरोध गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानले सामाजिक सञ्जालमा लेख्ेका छन्– हैट, शोकमा नि बिदा, हर्षमा नि बिदा, केही निहुँ पायो बिदा ठोकिहाल्छन्, यस्ता बिदाले अर्थतन्त्रमा नकारात्मक असर पर्छ भन्ने हेक्का किन राख्दैनन् कुन्नि ? करिब एकहप्तादेखि बिभिन्न कारणहरूले बैंक तथा वित्तीय संस्थाहरुले पूर्णरुपले कारोबार नगरेको, अझ फेरि माघ २ मा शोक बिदा घोषणा भएपछि कारोबारमा थप संकुचन आउने निश्चित देखियो ।

पत्रकार कनकमणि दीक्षितले ट्वीट गरेका छन्– हवाई दुर्घटनाको दुःखद खबर आत्मसात् गर्न नपाउँदै सार्वजनिक बिदाको घोषणाले धक्का दियो । आम निर्वाचनबाट भर्खरै आएको सरकारको यस्तो गैरजिम्मेवार निर्णय, उसले न अर्थतन्त्र बुझेको न समाज बुझेको संकेत देखियो ।

शोकमा परेकालाई सहयोग गर्न छाडेर सार्बजनिक बिदा दिनु सरकारको नालायकीपन हो भन्ने धारणा टिप्पणीकर्ताहरुको छ । अघिल्लो सरकारको पालामा भएभरका चाडपर्वमा बिदा दिने निर्णय भयो । यो वर्षको बिदाको लिष्ट हेर्दा झण्डै ६० दिनभन्दा बढी छ ।

सरकारले एक दिन बिदा दिदा करिब एक अर्ब रुपियाँ घाटा हुने विश्लेषण अर्थविद्हरुको छ । शनिबार सार्वजनिक बिदा भयो, हिजो आइतबार माघे संक्रान्ति, बिदा भयो । आज सोमबार पनि बिदा हुँदा अर्थतन्त्रमा असर परेको टिप्पणीकर्ताहरुको भनाइ छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार नेपालमा दुर्घटना भएको यो ५८औं दुर्घटना हो । तर यस्ता दुर्घटनामा सरकारले कुनै बिदा दिएको जानकारी छैन । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको बिदाको निर्णय विवादमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology