विद्यालयहरुको योजना नै नगरको शैक्षिक योजना हुनेछ : नगरप्रमुख भुसाल

NAWALPUR TIMES

विद्यालयहरुको योजना नै नगरको शैक्षिक योजना हुनेछ : नगरप्रमुख भुसाल
received 1318302358694078

प्रेम न्यौपाने/नवलपुर ।
विद्यालयहरुले बनाउने शैक्षिक योजना नै नगरपालिकाको योजना हुने कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताएका छन् ।

कावासोती नगरपालिक भित्रका सामुदायिक विद्यालयहरुको विद्यालय सुधार योजना निर्माण तथा नेतृत्व विकास सम्बन्धि दुई दिने कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै भुसालले हरेक विद्यालयले योजना निर्माण गर्दा दीर्घकालीन सोंचका साथ विद्यालयको चौतर्फी विकासलाई ध्यानमा राखी विद्यालय सुधार योजना बनाउँनुपर्ने बताए ।
नगरप्रमुख भुसालले शिक्षकहरुलाई विद्यालय समयलाई प्रभाव पार्ने गरि कुनै पनि संघसंस्थाका कार्यक्रम र राजनीतिक दलका सभा जुलुसमा सहभागी नहुन समेत आग्रह गरे। पछिल्लो समय शिक्षकहरु विशेष गरी सहकारी संस्थाको जिम्मेवारी पदमा बस्ने होडबाजी नै चल्ने गरेको गुनासो आईरहेकाले त्यसो नगर्न आग्रह गर्दै भुसालले कुनै शिक्षक सहकारीको मुल समिति वा उप-समितिको पदमा रहेको भए तत्काल सो पद छाड्नुपर्ने बताए ।

कावासोती नगरपालिकाका भित्र संचालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुको क्षमता विकासका लागि मंगलबार देखि जारी नेतृत्व विकास र विद्यालय सुधार योजना निर्माण सम्बन्धि कार्यशाला बुधबार सम्पन्न भएको हो ।

बिट्रीश काउन्सिल र कावासोती नगरपालिकाको साझेदारीमा संचालित होल स्कूल डेभलपमेन्ट प्रोग्राम परियोजना अन्तरगत दुई दिने कार्यशालाको बुधबार समापन गरिएको हो ।

कार्यशालामा पालिका भित्रका ४० वटा सामुदायिक विद्यालयका विद्यालय व्यस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरु गरि १ सय २५ जनाको सहभागिता रहेको थियो । कार्यशाला प्रा वि, नि मा वि र मा वि तहको छुट्टाछुट्टै समूहमा सन्चालन गरिएको थियो ।
परियोजनाले विगत २ वर्ष देखि कावासोती नगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरूको क्षमता विकास तालिम लगाएतका विभिन्न शैक्षिक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।

कार्यशालाको समापन कार्यक्रम कावासोती नगरपालिका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको अध्यक्षता एवं कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकाका स्रोत शिक्षक एवं परियोजना संयोजक तिर्थराज कंडेलले गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology