वाङमय राष्ट्रिय कविता प्रतियोगितामा धादिङका विजय भए पहिलो

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १८ गते २२:१५
वाङमय राष्ट्रिय कविता प्रतियोगितामा धादिङका विजय भए पहिलो
263155897 233227475523117 738202801168043069 n

 

चितवन, १८ मंसिर । लायन्स क्लब अफ चितवन वाङमयले शनिबार राष्ट्रिय कविता प्रतियोगिता- २०७८ आयोजना गर्यो । गैंडाकोटस्थित नारायणी रिसोर्टमा आयोजित प्रतियोगितामा धादिङका कवि विजय तामाङले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा लमजुङकी कमला अधिकारी भट्टराईले द्वितीय स्थान हासिल गरिन् भने तनहुँका गोविन्द गोपाल खतिवडा तृतीय भए । त्यसैगरी झापाका राजन सुवेदीले सान्त्वना स्थान हासिल गरे ।

कविता प्रतियोगिताका लागि उत्कृष्ट १० भित्र छनोटमा परेका स्रस्टालाई बोलाएर वाचनमा सहभागी गराइएको थियो । जसअनुसार झापाका डा. खगेन्द्रप्रसाद दाहाल र खेमराज नेपाल, इलामका जीवनहरि शर्मा, नवलपरासीका निमा पौडेल तिवारी, कास्कीका प्रकाश पोख्रेली आचार्य र तनहुँका संयोग बस्यालले पनि कविता वाचन गरेका थिए । `हाम्रो पर्यावरण : हाम्रो सम्पदा´ शीर्षकमा कविता आह्वान गरिएको थियो । उक्त शीर्षकमा कविता लेखेर कुल ८३ जनाले प्रतियोगितामा पठाएका थिए । प्राप्त कवितामध्ये उत्कृष्ट १० कविता छनोट गरेर प्रतियोगितामा सहभागी गराइएको वाङमयकी अध्यक्ष हरिप्रिया रिजालले जानकारी दिइन् । प्रतियोगितामा सर्वाधिक अंकसहित पहिलो भएका विजय तामाङले रू. २५ हजार नगद प्राप्त गरे । त्यसैगरी द्वितीय भएका कमला अधिकारी भट्टराईले १५ हजार रुपैयाँ, तृतीय भएका गोविन्द गोपाल खतिवडाले १० हजार र सान्त्वना स्थान हासिल गरेका राजन सुवेदीले ५ हजार रुपैयाँ जितेका छन् । विजयी सबैसहित उत्कृष्ट १० जनालाई पनि प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कविता प्रतियोगिताको निर्णायकमा कविहरू भूपिन, प्राडा नारायणप्रसाद खनाल र केशवराज आमोदी रहेका थिए । कार्यक्रमलाई पुष्प अधिकारी अञ्जलि र सुजन अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए । कविता प्रतियोगिता कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले लायन्स क्लब अफ चितवन वाङ्मयले नेपाली भाषा, साहित्यलाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताए । `संसारलाई उज्यालो दिशामा लैजान पनि यस संस्थाले महत्त्वपूर्ण काम गरेको छ´ उनले भने – `आगामी दिनमा अन्य जिल्लामा पनि वाङ्मय क्लब खोल्न लायन्सले सहयोगी भूमिका खेल्नेछ ।´ लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष हरिप्रिया रिजालले नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा यस संस्थाले निरन्तर काम गर्ने बताइन् ।

त्यस्तै क्याबिनेट सेक्रेटरी प्रभाकर पण्डितले लायन्स क्लब अफ चितवन वाङ्मय देशभरका साहित्यप्रेमीहरुको क्लब भएको बताउँदै भाषा साहित्यको उत्थानमा यस क्लबले सधैँ काम गर्नुपर्ने बताए । कार्यक्रममा लायन्स प्रतिनिधिहरू दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, बालगोपाल चुके, रत्नप्रसाद सापकोटा, मेघराज कँडेल, हरि ढकाल, गोविन्दराज विनोदी, धनराज गिरी, रामहरि श्रेष्ठ, भीम शर्मा, कमल अर्याल, अम्बिका कार्की, खनाल रेवतीरमणलगायतका लायन्स प्रतिनिधि एवम् साहित्यकारहरूको उपस्थिति थियो ।

प्रकाशित : २०७८ मंसिर १८ गते २२:१५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI