वर्तमान समाजका जघन्य अपराधलाई चित्रण गर्ने “क्रन्दन” शीर्षकको गीत सार्वजनिक

NAWALPUR TIMES

वर्तमान समाजका जघन्य अपराधलाई चित्रण गर्ने “क्रन्दन” शीर्षकको गीत सार्वजनिक
aakrosh 3 k5T9ugvxW1 scaled

अँध्यारो निष्पट्ट अँध्यारो, अभिभावक भएर पनि सहाराविहीन एक बालिका जो घर, परिवार र समाजबाट त्रसित छिन् । निर्मला पन्त, सम्झना बिक हुँदै भागिरथी भट्टको नियति दोहोरिन्छ कि भन्ने डरले आमासँग बादलपारी जाने अनुमति मागिरहेकी छिन् । यो हिंस्रक समाजसँग यति डर छ कि बरु बादलपारी गए अबोध नानीहरु सुरक्षित हुन सक्छन् कि भन्ने आशा छ । सायद, बादलपारी कोही सिकारी हुँदैनन् होला ।

नेपाली समाजमा दिनहुँ देखिन थालेका सामाजिक विकृतिको चरम रुप र शर्मनाक घटनाका रुपमा लिन सकिने बालिका बलात्कार र हत्याजस्ता जघन्य अपराधका घटना तथा त्यस्ता अपराध कर्म गर्नेमाथि कारबाही नै हुन नसकेका दुःखद पक्षलाई समेटेर हालै सार्वजनिक भएको “क्रन्दन” शीर्षकको गीतले यही अवस्थालाई मार्मिक रुपमा प्रस्तुत गरेको छ ।

न निर्मलाको आँशुले कसैलाई पोल्यो, न भागिरथीको आँशुले भन्दै हिंस्रक पुरुषबाट जोगिन चिच्याउँदा पनि नसक्ने यो समाजमाथि गीत मार्फत चर्को घृणा व्यक्त गरिएको छ । आफ्नो घर नै कालो भएको भन्दै घर भित्र नै असुरक्षित हुनु परेको त्रास सहित मानवरुपी राक्षसको डरै डरमा बाँच्नुभन्दा बादलपारी नै सुरक्षित हुने आशा छ ।  रात त त्यसै पनि डरलाग्दो तर दिन नै डरलाग्दो भएको भन्दै आमासँग गुनासो गर्छिन्ः “आखिर हाम्रो सहारा त कोही पनि छैन नी ।”

वर्तमान समाजको चित्र उतार्दै उनी भन्छिन्, “बालिकाका लागि हास्न र खेल्न यो सारा संसार होइन म कसरी मेरो हो भन्ने अनुभूति गरुँ ?” कवि एवं गीतकार रत्न शम्शेर थापाले कुनै एक सन्दर्भमा भन्नुभएको थियो, “कविताले दिमाग र गीतले मुटु हल्लाउनु पर्छ ।” हो, गीतकार विजय अधिकारीको जिउ नै सिरिङ्ग पार्ने सशक्त शब्द, चर्चित गायिका मेलिन राईको हृदय छुने आवाज, शब्दप्रति उत्तिकै न्याय गरेर संगीत संयोजन गर्ने संगीतकार मोहित मुनाल तथा त्यो कलालाई टपक्क टिपेर पर्दामा उतार्ने छायाँकार निरज श्रेष्ठ तथा कुनै पनि भाव मर्न नदिई कथाप्रति पूर्ण न्याय गर्ने दृश्य सम्पादक भरत रेग्मीको सामूहिक प्रयासबाट जन्मेको सृजना हो “क्रन्दन” ।

भिडियो निर्देशक स्नेहा शर्माको परिकल्पनाले एउटा जीबन्त दृश्य तयार भएको छ । पुरै दृश्य हेरेपछि एक पटक छातिमा हात राखेर जो कोहि लाई पनि सोच्न बाध्य बनाउछ । सायद ढुगाको मन त  कसैको पनि छैन होला ।

पाँच मिनेटको गीतमा वर्तमान समाजको चित्र उतार्नु पक्कै पनि कठिन हो तर पनि दिभांशी बैदवार, रमिक सिंह ठकुरी, अनन्त सिग्देल, बिपुल राजभण्डारी, युबिना भट्टराई, निशान खत्री क्षेत्री, आश्ना राना, मीरा केसी, सबिना भण्डारी, गीता थापाको जीवन्त अभिनय रहेको गीत सुनेपछि वा हेरेपछि एक पटक सोच्न त बाध्य पार्छ, हामी कता जाँदै छौ ? हाम्रा छोरी चेली कहिलेसम्म असुरक्षित रहने ? स्रोत- न्यूज पोलार

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology