लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

NAWALPUR TIMES

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
1619928859120

मुख्यमन्त्री पोखरेलले केही बेरअघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।

विपक्षी दलले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ ।

उनले प्रदेश सभाको बैठक बस्नुअघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ।

दाङ २ (क) बाट निर्वाचित पोखरेल ३ फागुन, २०७४ मुख्यमन्त्री बनेका थिए। सातै प्रदेशका सरकारमा खिचातानी चलिरहेको भए पनि सबैभन्दा पहिले मुख्यमन्त्री पोखरेलको सरकार ढलेको छ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। २०७४ को निर्वाचनबाट नेकपा (एमाले)का ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद निर्वाचित भएका थिए।

एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले कारबाही गरिसकेको छ। उनीहरूको सांसद पद खारेज भइसकेको छ।

त्यस्तै, मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका चार सांसदलाई पनि कारबाही गरेको छ। उनीहरूको पनि सांसद पद खारेज भइसकेको छ।

अहिले प्रदेश सभामा ८० सदस्य छन्। सरकार बनाउने बहुमतका लागि ४१ सदस्य चाहिन्छन्।

प्रदेश सभामा एमालेका ४१, माओवादीका १७ (सभामुखबाहेक), कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन्। जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियाे।

जसले गर्दा अविश्वास प्रस्तावको पक्षमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका गरी ३९ सांसद देखिएका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology