लज्जास्पद हारपछि कोहलीले टेष्ट कप्तानीबाट पनि दिए राजीनामा, अब को ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २ गते ९:१५
लज्जास्पद हारपछि कोहलीले टेष्ट कप्तानीबाट पनि दिए राजीनामा, अब को ?
1616517970162

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानीबाट पनि राजीनामा दिएका छन् । यसअघि टी–२० विश्वकपपछि टी–२० को कप्तानी छाडेका कोहलीले दक्षिण अफ्रिकामा भएको तीन खेलको टेष्ट सिरिज २–१ ले हारेसँगै टेष्ट कप्तानीबाट पनि राजीनामा दिएका हुन् ।

उनले एक स्पष्टीकरण दिँदै आफूले हर चिजमा १२० प्रतिशत योगदान दिनचाहेको भन्दै यदि सो गर्न नसके त्यो गलतहुने भन्दै राजीनामा दिएको बताएका हुन् । उनले आफ्नो टिमसँग बेइमानी गर्न नसक्ने पनि उल्लेख गरेका छन् ।

उनलाई दक्षिण अफ्रिका भ्रमण शुरु हुनुअघि एक दिवसीयको कप्तानीबाट पनि हटाइएको थियो । उनले टेष्ट कप्तानीबाट राजीनामा दिएपछि भनेका छन्, ‘टीमलाई सही दिशामा लैजानका लागि मैले सा वलर्ष हरेक दिन कठिन परिश्रम गरेको छु । मैले आफ्नो काम पूरा इमानदारीका साथ गरेको छु । कुनै कसर बाँकी राखेको छैन ।’

उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईलाई धन्यवादसमेत दिएका छन् ।

टेष्ट कप्तानका समय उनले ६८ खेलमा ४० जित हासिल गरेका थिए भने १७ खेल हारेका थिए । ११ बराबरीमा सकिएको थियो । जित प्रतिशत ५८.८२ रहेको छ ।

अब को कप्तान ? 
एक दिवसीय र टी–२० को कप्तानीको जिम्मा रोहित शर्माले पाएका छन् । पक्कै पनि टेष्टको जिम्मा पनि उनले नै पाउने छन् ।

किनकि दक्षिण अफ्रिकाको भ्रमणअघि टी–२० को कप्तानी छाडेका विराटलाई एक दिवसीयबाट पनि हटाइएको थियो । त्यतिबेला चयनकर्ताले सेतो बलका दुई कप्तान हुन नसक्ने जिकिर गरेका थिए ।

टेष्टको रातो बलको कप्तान छुट्टै हुन पनि सक्छ । तर एक दिवसीय र टी–२० को कप्तान टेष्टमा गएर बिना कप्तानी खेल्दा अलमल बढी हुने निश्चित छ । त्यसैले पनि तीन वटै शैलीमा एकै कप्तान हुने लगभग तय छ ।

यो अर्थमा रोहित शर्मा नै कप्तान हुने निश्चित जस्तै छ । तर लोकेश राहुल पनि इच्छित छन् । यति हुँदा पनि उनको खेल कौशल भने घटेको देखिन्छ ।

प्रकाशित : २०७८ माघ २ गते ९:१५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI