लघुकथा- “प्रधानमन्त्रीको राजीनामा”

NAWALPUR TIMES

लघुकथा- “प्रधानमन्त्रीको राजीनामा”
Untitled 3

राजन पाण्डे-

पत्रकारहरूको भिड खचाखच थियो। आआफ्नो मिडियाको माइक अगाडि राखेर आतुर मानसिकतामा राजीनामा दिएर पत्रकार सम्मेलन गर्न लागि परेका पूर्व प्रधानमन्त्रीलाई कुरिरहेका थिए।

प्रधानमन्त्रीले आकस्मिक रुपमा राजीनामा दिएको समाचारले अनलाइन मिडियाहरू भरिभराउ थिए। नागरिकहरूमा उत्सुकता थियो । राजनीतिक विश्लेषकहरू आआफ्नो भाषा बोलिरहेका थिए। विदेशी प्रभाव, सत्ता साझेदार बीचको बेमेल, बिचौलियाको चङ्गुलमा गरेका खराब कामको नतिजा, जनतामा बढ्दो असन्तुष्टि, पार्टीभित्रकै आन्तरिक कलह यी र यस्तै सवालहरूको केस्रा केलाइरहेका थिए ।
यत्तिकैमा पूर्व प्रधानमन्त्री पत्रकारहरूको अगाडि आइपुग्नुभयो। जनता र देशका लागि आफू समर्पित रहेको कुरा त सनातनी रुपमा राख्नुभयो त्यो बाहेक विशेष रुपमा आफू आत्मालोचित हुँदै राखेको कुराले भने निकै सन्नाटा छायो।
उहाँले भन्नुभयो, “मैले आलोचना र विरोधको बीचमा रहेको फरक चिनेको रहेनछु। मैले पार्टी सञ्चालनको काममा गरेका निर्णयहरू सधैं श्रेष्ठ ठाने । मैले जस्तै अरुले पनि पार्टीलाई माया गरेर विचार राखेका हुन् भन्ने बुझ्नै चाहिन। त्यति मात्र होइन म प्रधानमन्त्री हुँदा प्राप्त गरेको शक्ति, अधिकार,स्रोत साधन र जिम्मेवारीलाई नागरिकको पक्षमा प्रयोग गर्न खबरदारी गर्ने आलोचकहरूलाई देब्रे आँखाले पनि हेर्न सकिन । पचाउनै सकिन । बरु उनीहरूलाई नै पचाउने कोसिस गरें । आज आएर बुझ्दैछु। सत्ताको शक्तिको चास्नीमा डुबुल्की मार्न कालोलाई सेतो भन्न तयार, हिमाललाई तराई भन्न तयार, नाङ्गोलाई वस्त्रयुक्त भन्न तयार स्वार्थी जिन्दाबादका झुण्डहरूलाई सधैँ आफ्नो ठानें । आज महसुस गर्दैछु। गति पनि बिग्रिएको रहेछ, मति पनि बिग्रिएको रहेछ।”
यत्तिकैमा पत्रकारहरूबाट एउटा प्रश्न ठूलो आवाज सहित आयो । अब तपाईंले के गर्नुहुन्छ ?
पूर्व प्रधानमन्त्रीले भन्नुभयो “म आजैको मिति देखि राजनीतिबाट सन्यास लिँदैछु। म आउने पुस्तालाई सुझाव दिन चाहन्छु । आलोचकहरुलाई शिरमा राख्नु । सुन्न, सहन र समेट्न सक्ने तागत निर्माण गर्नु।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology