कावासोती । मंगलबार देखि परेको अबिरल बर्षाले पहाडी क्षेत्रमा चल्ने कालीगण्डकी करिडोर र दलदले- धौवादी सडक बन्द भएको छ ।
वर्षापछि आएको पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार बुलिङ्गटारको कौडे भिरमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।
त्यसै गरि नवलपुरको पहाडी क्षेत्र जोडने भित्री सडक दलदले-धौवादी समेत अवरुद्ध भएको डिएसपी पौडेलले बताए । यो सडक खण्डको अर्खला र पोखरी भन्जयाङ्गमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
वर्षा निरन्तर भइरहेकाले बाटो खुलाउनका लागि करिडोरको निर्माण कम्पनी र गाउँपालिका सँग समन्वय भईरहेको पौडेलले बताए । त्यसै गरि दलदले कुमसोत कृतिपुर सडक समेत वर्षाका कारण अवरुद्ध भएको छ ।कुमसोत जाने बाटोको ३ नम्बरी घुम्ती, कीर्तिपुर जाने झोलुङ्गे पुल नजिकै र बन्दिपुर जाने बाटोमा समेत पहिरो खस्दा आवतजावत ठप्प भएको छ । अहिले उक्त सडक खण्ड अवरुद्ध भएको देवचुली वडा नं ६ का वडाध्यक्ष मीन बहादुर सोतीले बताए ।
प्रकाशित : २०८० असोज १८ गते ८:००
Facebook Comment