रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता

NAWALPUR TIMES

रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
1614927249934

सरकारसँग तीन बुँदे सहमति भएसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरु रिहा हुन थालेका छन् । शुक्रबार बिहान काभ्रेबाट नेकपा नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । उनलाई श्रीमतीको जिम्मा लगाइएको थियो ।

गृहमन्त्रालयले बिहीबार साँझ नै शुक्रबारसम्म सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको थियो । बिहीबार मन्त्रिपरिषद्को बैठकले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ ।

‘विप्लव’ समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा छन् । सो समूह र सरकारबीचको तीन बुँदे सहमतिको एउटा बुँदामा लेखिएको छ, ‘सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी ।’ सरकारले प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको छ ।

विप्लवका दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ पनि चितवन जेलमा छन् । पुलिसलाई हातपात गरेको आरोपमा प्रमुख जिल्ला अधिकारीले उनलाई १० हजार धरौटी मागे । धरौटी नबुझाएपछि उनी थुनामा परेका हुन् । ‘वीरजंग’ जस्तै पाँच जना केन्द्रीय सदस्य जेलमा छन् । स्थायी समिती सदस्य हेमन्त प्रकाश ओली नख्खु कारागारमा छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology