रास्वपाले सहकारीपीडितमाथि राजनीति गरेको आरोप

NAWALPUR TIMES

रास्वपाले सहकारीपीडितमाथि राजनीति गरेको आरोप

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी, किर्ते र संगठित अपराध मुद्दामा शुक्रबारदेखि कास्की प्रहरीेको हिरासतमा छन् । सडकमार्गबाट पोखरा ल्याइएका लामिछानेसँगै रास्वपाका नेता कार्यकर्ता पनि विभिन्न जिल्लाबाट पोखरा आएका छन् ।

एउटै मुद्दामा कोही थुनामा पुग्दा वा हिरासतमा रहँदा नभएको प्रदर्शन रवि लामिछाने पक्राउ परेपछि पोखरामा देखिएको छ । १८ हजारभन्दा बढी पोखरेलीको एक अर्बभन्दा बढी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका हुन् ।

उनी पक्राउ परेयता रास्वपाले हरेक दिन पोखराका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ । ‘सहकारीपीडितलाई न्याय दे’ भन्दै प्रदर्शन गरिरहेको रास्वापाले रवि लामिछाने निर्दोष रहेको जिकिर गर्दै आएको छ ।

पोखरेलीको साथ अपेक्षित रूपमा नपाएपछि घरदैलो मोडलमा रास्वपा पुगेको छ । यसलाई नजिकबाट नियालिरहेका सहकारीपीडितले रास्वपाले राजनीति गरेको बताएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समितिले  रास्वपाले पीडितका नाममा राजनीति गरेको बताएको हो । सहकारीपीडितको यो गम्भीर विषयमाथि फेरि एउटा पार्टी र त्यसका नेताले राजनीति गरेको अनुभूति भइराखेको उनीहरूको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, “आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैटोमा घाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारीपीडित झनै सशंकित भएका छौँ ।”

रास्वपाले पीडितलाई राहत र न्याय दिनेभए दुई वर्षदेखि चुप लागेर नबस्ने उनीहरूको भनाइ छ ।

“यो पार्टीका नेताले के हेरेर बस्नुभयो, दश महिनाअघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो,” विज्ञप्तिमा उल्लेख छ, “किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सरसल्लाह भएन ? रास्वपाको यो कार्यक्रम र अनुरोधको पनि समय र सन्दर्भ नमिलेको कुरा सबै पीडित जनतालाई स्पष्ट रहेको छ ।”

ss-1729669930.JPG

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology