रानीपोखरीको उद्घाटन बुधबार हुने

NAWALPUR TIMES

रानीपोखरीको उद्घाटन बुधबार हुने
1603023403213

काठमाडौं। पुन:निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन बुधबार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको रानीपोखरी पुन:निर्माण भइसकेको छ।

 

प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन ‘न्हुँपोखरी’ उद्घाटन हुनेछ।  तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण गरिएको छ।

 

उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको दर्शनसमेत गर्न पाउने भएका छन्।

 

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो।

 

सुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि पुरातत्व विभाग र‍ काठमाडौं महानगरपालिकाबीच कुरा नमिल्दा तीन वर्षसम्म  पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो।

 

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन्। प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ।

 

पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।  सुरुमा पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ ९विसं १७२५० मा सम्पन्न भएको थियो। नेसं ७९० ९विसं १७२७/इसं १६७०० मा शिलापत्र राखिएको थियो।

 

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ।

 

उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ।

 

रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्न राष्ट्र प्रमुखलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।

 

भानु मावि चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो। ८५ करोड रूपैयाँको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालयको चारतले भवनमा ४० कक्षाकोठा  छन्।

 

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा विसं १९१० मा राणाका छोराछोरी पढाउन सो विद्यालय स्थापना गरिएको थियो। विसं १९६४ देखि संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई खुला गरिएको सो विद्यालयको साँचो हस्तान्तरण भइसकेको छ।

 

रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology