राजनीतिक खिचातानी र गुटबन्दीका कारण अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

NAWALPUR TIMES

राजनीतिक खिचातानी र गुटबन्दीका कारण अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय
1614411101369

ताला खुल्न नसकेपछि चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ। आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन।

विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो। विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भइसके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ। विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाकाअनुसार पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डीनका कार्यालयमा तालाबन्दी छ। ती कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन, प्रगतिशील कर्मचारी संगठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले तालाबन्दी गरेका छन्। पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी संगठन र पूर्वस्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उनले जानकारी दिए।

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन्। विश्वविद्यालयमा असोज ९ गते प्राडा पुण्यराज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तरजसो तालाबन्दी रहेको छ। उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन्।

विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ। उपकुलपति रेग्मीलाई यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

विश्वविद्यालयका कृषि संकायका डीन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए। पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन। विश्वविद्यालयको उच्च पदाधिकारीको समूहबाट नै तालाबन्दी हुँदासमेत छलफल गरेर निकास निकाल्न सकिएको छैन।

विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यसअनुसार पदाधिकारीले काम नगर्दा विश्वविद्यालय नै विघटनमा जाने हो की भन्ने चिन्ता बढेको बताउँछन्। उनले भने, ‘सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो।’ सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ। कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले विसं २०६७ मा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology