युरोकपमा शुक्रबार रातिका दुवै खेलमा जित–हार निस्केन, अन्तिम खेलबाटै नकआउटको टुंगो

NAWALPUR TIMES

युरोकपमा शुक्रबार रातिका दुवै खेलमा जित–हार निस्केन, अन्तिम खेलबाटै नकआउटको टुंगो
england vs i30MLskj0A

युरोकप फुटबलको १६ औं संस्करणको शुक्रबार रातिका दुवै खेल बराबरीमा सकिएका छन् । समूह डी का दुवै खेलमा क्रोएसियाले चेक गणतन्त्रसँग र इङ्गल्याण्डले स्कटल्याण्डसँग बराबरी खेलेको हो ।

दुवै खेलमा बराबरीको नतिजा आएसँगै राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो शुक्रबार नै लागेन । अब तेस्रो चरणको खेलबाटै शीर्ष दुईमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो लाग्नेछ । ६ समूहबाट तेस्रो स्थानका उत्कृष्ट चार टिम पनि राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले त्यसको टुंगो भने समूह चरणका सबै खेल सकिएपछि मात्र लाग्नेछ ।

क्रोएसिया र चेक गणतन्त्रको खेल
क्रोएसिया र चेक गणतन्त्रले हाम्पडेन पार्कमा भएको खेलमा १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूवाती अग्रता भने चेक गणतन्त्रले लियो ।

खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गरे क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेकले पेनाल्टी पाएको थियो ।

४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । यसअघि क्रोएसिया इङ्गल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

इङ्गल्याण्ड र स्कटल्याण्डको खेल 
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा गोलरहित बराबरीमा खेल टुंगिएको हो । खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलमा इङ्गल्याण्ड अभागी सावित भएको थियो । १२ औं मिनेटमा  जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।


अंक तालिका
दोस्रो चरणको खेलपछि समूह डीमा चेक गणतन्त्र २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेकले पहिलो खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले हराएको थियो ।

इङ्गल्याण्ड खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । उसले क्रोएसियालाई १–० ले मात्र हराएको थियो ।

क्रोएसिया र स्कटल्याण्ड समान १–१ अंकबाट तेस्रो र चौथो स्थानमा छन् ।

अन्तिम चरणको खेलमा क्रोएसियाले स्कटल्याण्डसँग र चेकले इङ्गल्याण्डसँग खेल्नेछ । पहिलो र दोस्रो टिमले बराबरी खेलेका खण्डमा दुवै टिम अन्तिम १६ मा पुग्दा अर्को खेलको विजेता उत्कृष्ट चार भित्र परेर उक्त टिम पनि पुग्न सक्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology