युट्युबले यसै वर्ष हटायो एक करोड १४ लाख भिडियो

NAWALPUR TIMES

युट्युबले यसै वर्ष हटायो एक करोड १४ लाख भिडियो
1598528878.youtube

वासिङ्टन। भिडियो हेर्न मिल्ने माध्यमको रूपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ।

 

कम्पनीको मापदण्ड तथा निर्देशिका विपरीत रहेको ठहर गरिएका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

 

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरू हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरू हटाइएको हो।

 

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्र हटाएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनु परेको कम्पनीको तथ्यांक छ।

 

“समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

 

बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ।

 

लोकप्रिय समाजिक सञ्जालको रूपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ।

 

रासस/एएनआई

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology