युक्रेनलाई हराउँदै इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा

NAWALPUR TIMES

युक्रेनलाई हराउँदै इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा
5 2

काठमाडौं। युक्रेनलाई हराउँदै इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको छ। इटालीको रोममा शनिबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४ – ० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो।इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी म्यागुइर र जोर्डन हेन्डरसनले एक एक गोल गरे।खेलको चौथो मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। रहिम स्ट्रलिङको उत्कृष्ट पासमा केनले गोल गर्दै इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ – ० ले अघि रहेको इंग्ल्याण्डले दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरेर थप ३ गोल गर्यो। ह्यारी म्यागुइरले दोस्रो हाफको सुरुवाती समय ४६ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए। लुक शको फ्रिकिक पासमा हेडर गोल गर्दै म्यागुइरले २ – ० को अग्रता दिलाएका थिए। खेलको ५० औं मिनेटमा लुक शले दिएको पासमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ३ – ० को अग्रता दिलाए। ५७ औं मिनेटमा मैदान प्रवेश गरेका जोर्डन हेन्डरसनले गोल गर्दै इंग्ल्याण्डलाई ४ – ० को अग्रता दिलाए। मेसन माउन्टको पासमा ६३ औं मिनेटमा हेन्डरसनले गोल गरेका थिए।

इंग्ल्याण्डको यो जित नै कुनै पनि ठूला प्रतियोगितामा प्राप्त गरेको सबैभन्दा धेरै गोलअन्तरको जित हो। जितसँगै इंग्ल्याण्ड सन् १९९६ पछि युरोकपको सेमिफाइनल पुग्न सफल भएको हो। अब फाइनल प्रवेशका लागि इंग्ल्याण्डले डेनमार्कको सामना गर्ने छ। डेनमार्क चेक रिपब्लिकलाई २ १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology