यी हुन कांग्रेस केन्द्रीय सदस्यका लागि २२ नयाँ अनुहार

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते १९:०२
यी हुन कांग्रेस केन्द्रीय सदस्यका लागि २२ नयाँ अनुहार
209994554 1385826341799036 1948601370765711598 n

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएसँग अबको नेतृत्व लिनका लागि नेताहरुको दौडधुप सुरु भएको छ । भदौमा हुने महाधिवेशनबाट कांग्रेसको भावी नेतृत्वको लागि झन्डै आधा दर्जन बढी नेताहरु अग्रसर देखिएका हुन् । सभापति शेरबहादुर देउवा पुनः सभापति पदमा दोहोरिने आकांक्षा देखाइ रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एक पटक पार्टीको नेतृत्वमा पुग्ने दौडमा छन् ।

शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि पनि सभापति पदका आकांक्षी उम्मेदवार हुन । कतिपय नेताहरु गुट परिवर्तन नै गरेर चुनावी क्याम्पमा लागेका छन् । तर अहिलेसम्म कांग्रेसमा स्पष्ट समीकरण भने बनिसकेको छैन् ।

पदाधिकारीका लागि भइरहेको तीव्र दौडधुपका बीच कांग्रेसमा यसपटक केन्द्रीय सदस्य बन्नका लागि पनि दौडधुप सुरु भएको छ । पहिलो पटक केन्द्रीय सदस्य बन्ने होडमा कांग्रेसको भातृ संस्था नेविसंघ र तरुण दलका पूर्व तथा वर्तमान पदाधिकारीहरुको बाहुल्यता देखिन्छ ।

सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य बन्नका लागि संविधानसभा सदस्य रामहरी खतिवडा, नेविसंघका नेता उमेशजंग रायमाझि, उदय शमशेर राणा, राजीव ढुङ्गना, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महर, तरुण दलकी नेतृ लक्ष्मी खतिवडा, नेविसंघका पूर्व उपाध्यक्ष गुरु बराललगायतका युवा नेताहरुले पहल गरिरहेका छन् ।

पौडेल–कोइराला गुटबाट पनि केन्द्रीय सदस्यका आकांक्षिमा नेविसंघ र तरुण दलको राजनीतिबाट आएका युवाहरु नै देखिएका छन् । तरुण दलका पूर्व अध्यक्ष विनोद काष्ठ, नेविसंघकी पूर्व महामन्त्री प्रतिमा गौतम, प्रतिनिधिसभा सदस्य तथा दलित संगठनका नेता प्रकाश रसाइली स्नेही, नेविसंघका पूर्व महामन्त्री तथा रोल्पाबाट कांग्रेसको राजनीति गर्दै आएका मनोजमणी आचार्य, नेविसंघका पूर्व अध्यक्ष केशव सिंह, पूर्व उपाध्यक्ष प्रमोदहरी गुरागाइ, नेविसंघका पूर्व महामन्त्री गजेन्द्रबहादुर कार्की, नेविसंघका पूर्व सहमहामन्त्री निखिलेस मिश्र, प्रदेश नम्वर एकका सचेतक केदार कार्की, नेविसंघका पूर्व सहमहामन्त्री टेकराज पौडेल, नेविसंघका पूर्व अध्यक्ष रन्जीत कर्णलगायत नेताहरु केन्द्रीय सदस्यका आंकाक्षी हुन् ।

त्यस्तै नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्ले, पूर्व कोषाध्यक्ष बिनोद बान्तवा, नेविसंघका पूर्व उपाध्यक्ष रत्न कार्की पनि कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने होडमा देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टी नेतृत्वका कारण नराम्रो पराजय भोग्नुपरेको आवाज उठेको कांग्रेसमा पदाधिकारीका लागि पनि युवापक्ती दौडधुपमा देखिएको छ ।

देउवा र पौडेल दुबैजना पार्टी नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न तयार हुनुपर्ने आवाज बलियो देखिए पनि दुबै जना नेतृत्व हस्तान्तरणमा तयार छैनन् । जसका कारण दुबै पक्षबाट पदाधिकारीमा आ–आफ्नै ढंगले लविङ सुरु भएको छ । महाधिवेशनसम्म कांग्रेसमा कस्तो समीकरण बन्ला त्यो हेर्न बाँकी छ ।

प्रकाशित : २०७८ असार १७ गते १९:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI