यस वर्ष देवघाट मेला नलाग्ने

NAWALPUR TIMES

यस वर्ष देवघाट मेला नलाग्ने
1641351365

चितवन — कोरोना संक्रमण बढ्दै गएपछि माघे संक्रान्तिका दिन देवघाटघाममा हुने मकर स्नान मेला यस वर्ष नहुने भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीएमसी) चितवनको पुस २६ को बैठकले जिल्लाका सबैखाले मेला महोत्सवमा रोक लगाउने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार देवघाटधाममा यो पटक मकर स्नान पनि नहुने भएको हो ।

चितवन, तनहुँ र नवलपुर जिल्लाको संगम रहेको देवघाटधाम कालीगण्डकी र त्रिशूली नदीको मिलनविन्दु हो । मेला व्यवस्थापनका लागि विभिन्न तयारीहरु पूरा भएको थियो ।

‘हामीले ९० प्रतिशत काम पूरा गरेका थियौं । तर पछिल्ला दिनहरुमा कोरोना संक्रमण ह्वात्तै बढेपछि चितवन जिल्ला प्रशासनले जे निर्णय गरेको छ, त्यसमा सहमत हुँदै यो वर्ष मेला नगर्ने निधोमा पुग्यौं,’ देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले भने । उनले रोगको जोखिमका कारण यो वर्ष देवघाट नआउन सर्वसाधरणलाई अपिल पनि गरे ।

चितवनमा पछिल्ला दिनहरुमा संक्रमण ह्वात्तै बढेको छ । चितवनमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या जम्मा ८२ थियो । चितवन स्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार बुधबार यो संख्या बढेर २४० पुगेको छ । २४ गतेसम्म जिल्लामा नौ जना संक्रमित थपिने गरेका थिए । त्यसपछि एकै दिन ४१, ४७ हुँदै बुधबार एकै दिन ८१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology