नवलपुर । गएको असारयता नेपालमा डेगी संक्रमण तीव्र रूपमा फैलँदै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार भदौ २२ गतेसम्म ६ हजार ७०७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै दुई हजार ६१३ जना संक्रमित भएका छन् । डेंगी ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार यो लामखुट्टेलाई प्रजनन प्रक्रियाका लागि धेरै प्रोटिन आवश्यक पर्छ । प्रोटिन जम्मा पार्न एकपटकमा यसले चारदेखि पाँचजनासम्मको रगत चुस्ने गर्छ । त्यसैले डेंगी व्यक्तिबाट व्यक्तिमा नसरे पनि एउटै संक्रमित लामखुट्टेले परिवार वा वरिपरि रहेका धेरैजनालाई टोकेमा एकैपटक संक्रमितको संख्या बढ्न सक्ने हुन्छ ।
यो लामखुट्टे ४०० मिटर वरपरसम्म उड्न सक्छ । यो सफा पानीमा बस्छ । मानिसको शरीरको गन्ध थाहा पाउने भएकाले यो लामखुट्टे प्रायः मानिसकै आसपास रहन्छ । लार्भा भने सफा पानीमा पार्छ ।
छिर्केमिर्के देखिने यो लामखुट्टेको लार्भा जम्मा गरेर राखिएको पानी, प्लास्टिकमा जमेको पानी, गमलाको पानी आदिमा रहन्छ । नयाँ लार्भा पनि डेंगी सार्ने भाइरसबाट संक्रमित हुन्छ । मानिसमा सार्न सक्छ । त्यसैले डेंगी संक्रमण हुन नदिने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु भएको विज्ञहरू बताउँछन् ।
प्रकाशित : २०७९ भदौ २३ गते १३:५३
Facebook Comment